काठमाडौं पुस, १६–
बीपी पुत्र समेत रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो लक्ष भनेको बलियो कांग्रेस बनाउनु रहेको बताएका छन् । ४२ औ मेलमिलाप दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले अब आफ्नो लक्ष केवल सुदृढ कांग्रेस बनाउनु मात्र रहेको बताएका छन् । उनले भने, ‘मलाई पार्टी सभापति बन्नु पनि छैन, प्रधानमन्त्री बन्नु पनि छैन केवल सुदृढ कांग्रेस बनाउनु मात्रै छ ।’
महामन्त्री कोइरालाले कांग्रेसले गएको निर्वाचनमा सर्मनाक पराजय भोगेको भन्दै अब कांग्रेसको संगठन सुदृढ गर्नुको विकल्प नभएको बताएका हुन् । उनले बीपीले निर्माण गरेको कांग्रेसको तलैसम्मको संगठन कमजोर भएकाले अब आफू तल्लो तहसम्मकै संगठन बलियो बनाउन लागिपर्ने बताए । आफ्नो पहिलो उद्देश्य पार्टी बनाउनु रहेको उनले सुनाए । ‘मलाई पार्टी अध्यक्ष बन्छु भन्ने छैन, प्रधानमन्त्री बन्छु भन्ने पनि छैन,’ कोइरालाले थपे, ‘मेरो मुख्य उद्देश्य भनेकै अब पार्टीलाई संगठित गर्ने हो, कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने हो ।’
नेता कोइरालाले निर्वाचन हार्नुमा पार्टी वा गठवन्धनलाई दोष लगाउनु भन्दा प्रतिपक्ष भूमिकामा रहेर काम गर्नु पर्ने बताए ।
महामन्त्री कोइरालाले एमाले र माओवादीबीस्चको गठवन्धन टुटाउनुपर्ने समेत बताएका छन् । वाम गठवन्धनलाई टुटाएपछि मात्र कांग्रेस बलियो हुने उनको तर्क छ । उनले माओवादी अध्यक्ष प्रचण्डलाई अलग्याउन सकिन्छ भनेर केही दिनमा आफूले पहल सुरु गर्ने समेत घोषणा गरे ।
कोइरालाले थपे, ‘माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ज्यूलाई फेरि हामीले गठबन्धनबाट अलग्याउने हो कि भन्ने पनि कुरा उठेका छन्,’ , ‘साथीहरुले मलाई आग्रह गरेका छन्, दाहालज्युसँग कुरा गर्नुस् भनेर एकचोटी कुरा गर्नुपर्ला ।’