सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन/अनुसन्धाामा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा. आमोरदकुमार पोखरेलले भने, ‘राजधानी सहर काठमाडौंको प्रदूषित हावा सजिलै पाँचखाल पुगिरहेको छ।’
काभ्रेपलाञ्चोकको पाँचखाल र मण्डन देउपुर नगरपालिकाका सात सय २७ घरको बाहिर र भित्रको वायु प्रदूषणसम्बन्धी अनुसन्धान गरिरहेका पोखरेलले अमेरिकाबाट ‘स्काइप’मा भने, ‘प्रतिसेकेण्ड ४ देखि ६ मिटरका दरले पश्चिमबाट हावा चल्दा त्यहाँको वायुमा २ दशमलव ५ माइक्रोग्रामभन्दा साना धुलोको कणको मात्रा कल्पना गरेभन्दा धेरै गुना बढी पाइयो। पोखरेलका अनुसार गत सेप्टेम्बर ११ देखि अक्टुबर ११ बीचको तथ्यांक विश्लेषण गर्दा यस्तो निष्कर्ष आएको हो । पश्चिमबाट चल्ने हावाले राजधानीको प्रदूषित वायु पाँचखालसम्मै पुगेको अध्ययनले देखाएको छ।