काठमाडौं पुस, १२ –
निकै चर्चा चलिरहेकाबेला बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोबीच भटवार्ता भएको छ ।
दुई नेताबीच ओली निवास बालकोटमा भएको भटवार्ता भएको हो । भेटवार्तामा प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी गराए । उनीहरुबीच निकै सौहार्दपूर्ण तरिकाले भेटवार्ता भएको बताईएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार तिमल्सिनाका अनुसार छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो । उनीहरुबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी पनि भएको छ।
१–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी समेत भएको छ ।
भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटलाई अर्थपूर्ण रुपमा लिएको छ ।
मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।
दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।