काठमाडौं पुस, ३–
प्रा.डा. सुरेन्द्र केसी तर्क र तथ्यले विशेषतः राजनीतिक दल र नेताहरुलाई ‘लोहार चोट’ दिन कुशल छन् । डा. केसीले नेपालका कम्युनिष्टहरुबारे त गहिरो अध्ययन गरेका छन् । नेपालमा कम्युनिष्ट नाम गरेका जति पनि राजनीतिक दल छन् ति कसैलाई डा. केसी कम्युनिष्ट मान्दैनन् । यो कुरा उनले नेपालका कम्युनिष्ट नेताहरुलाई प्रत्यक्ष नै भनिदिने गर्छन् । प्रतिनिधिसभारप्रदेश सभा निर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन स्पष्ट बहुमतमा पुगेपछि नेपाली कांग्रेसका नेताहरुमा विचलन आउन थालेको संकेत गरे । प्रस्तुत छ उनीसँग भएको कुराकानीको संपादीत अंशः
वामगठबन्धनको बहुमतपछि अबको राजनीतिक परिदृश्य कस्तो लागेको छ ?
‘कांग्रेसको अनुत्तरदायी शासन शैली, सभापति शेरबहादुर देउवाको उदासिन नेतृत्वको कारण नेपाली कांग्रेसले अहिले पराजय ब्यहोरेको छ । यो प्रवृत्ति रहेसम्म कांग्रेस उँभो लाग्दैन । सिर्जनशील र रचनात्मक प्रतिपक्ष हुनुको सट्टा कांग्रेसका चन्द्र भण्डारीले कम्युनिष्ट सरकार डेढ वर्षमै ढालिदिन्छौं भनेको सुनियो । यो सुखद होइन । ’विपक्षीको कुरा मात्रै होइन एमाले माओवादीबीचमै अब खटपट हुनेवाला छ । अहिले नै सरकार पहिले कि एकता पहिले भन्ने विषय उब्जेको छ । आफ्नो स्वार्थ पूरा गर्न ठूला नेताहरुले आफ्ना ‘यसम्यान’ हरुलाई विभिन्न कुराहरु बोल्न लगाउँछन् । त्यस्तै विषय प्राथमिकताका कुरा हुन् भन्ने स्थापित गराउँछन् । र स्वार्थको रोटी सेक्ने गर्छन् ।
वामगठबन्धने वाचा गरेअनुसारका काम गर्न सक्ला ?
हामीले कसम नै खाए झै यी नेताहरुको आलोचना गर्नुपर्ने विषय पनि केही छैन । जसरी नसोचेको गठबन्धन भयो । उनीहरुले चुनावमा सफलता पनि पाए । ठिक त्यसै गरी सत्ता व्यवस्थापन गरे, किचलो हटाए । मिलेर आर्थिक समृद्धितर्फ अगाडि बढे भने राम्रो हुन्छ । नेताहरुको स्वार्थले भरिएको पुरानो बानीबाट जनता झस्केका मात्रै हुन् ।
एमाले र माआवादीमा धेरै नेताहरु वरिष्ठ नेताहरु भए, उनीहरुलाई व्यवस्थापन गर्न समस्या छ भन्ने गरिन्छ नी ?
नेपाली राजनीतिमा नेतृत्व व्यवस्थापन ठूलो चुनौतीको कुरा हो । यो इतिहासदेखि नै छ । नेपाली कांग्रेस बन्नु अघि राष्ट्रिय कांग्रेसकै बेलादेखि नेतृत्व व्यवस्थापनमा किचलो आएको छ । त्यस्तो विषय कम्युनिष्टहरुमा पनि भयो । अहिले पनि डेढ दर्जन बामपन्थी दल छन् । यति धेरै विभाजनको मूल कारण पद नै हो । सधै तुष, महत्वाकांक्ष, विदेशी स्वार्थले टुक्रेका छन् । यो प्रवृत्ति अहिले पनि सकिएको छैन । राप्रपा त टुक्रेर सकियो । मधेसी पार्टीहरु पनि अध्यक्ष को बन्ने भन्ने मोहले टुक्रा टुक्रा भयो । यसकारण यस्ता क्रियाकलापहरु हुने गर्छन् । नेतृत्व व्यवस्थापन अहिलेको प्रमुख चुनौती एमाले र माओवादीकालागि पनि हो ।
विवेकशील साझा पार्टीका बारेमा तपाईले पहिले निकै टिप्प्णी गनुहुन्थ्यो, उसको हारलाई कसरी लिनु हुन्छ ?
त्यो पार्टीका नेताहरुले राजनीतिक चरित्र देखाएको भए राष्ट्रिय पार्टी बन्ने रहेछ । बन्न लागेको नयाँ विकल्प बनेन । दुःख लाग्यो । राजनीतिक शक्ति बनिदिएको भए जनताले विकल्प रोज्न सक्छन् भनेर पुराना नेता र दलहरु सजग हुने थिए त्यस्तो हुन सकेन ।
कांग्रेसको पराजयको मूल कारण के के हुन ?
आरजु देउवाको अनावश्यक हस्तक्षेप र चुरीफुरी कांग्रेसको घोर पराजयको एक कारण हो । बाँकी नौ करणहरु छन् । ती हुन्
२. शेरबहादुर देउवाको अकर्मण्य नेतृत्व
३. बामहरुको गठबन्धन
४. कांग्रेसको अनावश्यक प्रशासनिक हस्तक्षेप
५.नेपाल प्रहरी प्रमुख काण्ड
६.प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाभियोग
७. अख्तियार प्रमुख लोकमान सिंह कार्कीको सवालमा कांग्रेसको चरित्र
८.भारतीय नाकाबन्दीमा कांग्रेसको मौनता
९.केपी ओलीको अविचलित र राष्ट्रिय आकांक्षाअनुरुपको भूमिकाअहिले भारतका
नेपालमा वाम गठबन्धनको विजयलाई भारतमा मोदीको पराजयका रुपमा व्याख्या हुन गरेको छ नी ?
हो, भारतीय मिडियाहरुले मोदीको असफलताको रुपमा नेपालका वामपन्थीहरुको विजय हो भनेर चित्रण गरिरहेका छन् । भारतको गुजरातमा भइरहेको निर्वाचनमा पनि यसले प्रभाव पार्ने बताउने गरिन्छ । मोदीको नेपाल नीति गलत भएको टिप्पणी त्यहाँ भइरहेको छ । पहिले मोदीले कांग्रेस आइको नेपाल नीति गलत भनेका थिए । तर अहिले मोदीकै आलोचना भारतमा भइरहेको छ ।
केपी ओलीले चीनसँग आफू प्रधानमन्त्री हुँदा गर्नुभएको समझदारी अब अगाडि बढ्ला ?
उहाँलाई नैतिक दबाब आएको छ । वैकल्पिक परिवहन हाम्रो बाध्यता हो । तर ग्राउन्ड रियालिटी भारत नै हो । ८० प्रतिशत आर्थिक व्यवहार भारतसँग छ । यहाँका बुद्धिजीबीले धेरै भारतभक्ति पनि गर्छन । केपी ओलीविरुद्ध अफवाह पनि फैलियो । कृष्णप्रसाद भट्टराई पछि प्रचण्डले २५ बुँदे संयुक्त विज्ञप्तिले आपत्तिजनक विषय बोकेका छन् । त्यो विज्ञप्तिमा एक बुँदा के छ भने अरु कुरा छँदैछन्, पेटोलियम आइओसीबाट नै गर्ने भन्ने छ । नेपाललाई भारतको माखो सांग्लोमा बेर्दै गएको छ । केपी ओलीले कसरी गर्छन भन्ने चुनौति उनलाई छ ।
प्रचण्डलाई केपी ओलीले अध्यक्ष दिन सक्नु होला ?
सिधासिधा हेर्दा केपी ओलीले प्रचण्डलाई अध्यक्ष पद दिन सक्नु हुन्न । ४६ सालमा बनेको बाममोर्चामा पनि यस्तै समस्या भयो । त्यो बेला अध्यक्ष कसलाई बनाउने भन्ने कुरा आयो । अनि सहाना प्रधानलाई दिने सहमति भयो । तुलसीलाल अमात्यलाई मानार्थ अध्यक्ष बनाइयो । झलनाथ, आरकेलाई पनि तान्ने प्रयास भयो । यसरी विभिन्न उपाय अपनाउने गरिन्थ्यो । माक्सवादी र माले मिल्दा पनि त्यस्तै भयो । मनामोहन अध्यक्ष राखेर एमाले गठन भएको हो । मदन भण्डारीलाई महासचिव बनाइयो । मनमोहन बितेपछि उनको सम्मानमा अध्यक्ष खाली राखेर एमाले महासचीव पद्धतीमा पनि गयो ।
केपी ओलीले पछिल्लो पार्टी महाधिवेसनमा धेरैलाई हारगुहार गरेर अध्यक्ष बन्नुभयो, अब ती हारगुहार, वाचा के हुन्छ ? अहिलेको मतादेशलाई कसरी लिनु हुन्छ ?
मतादेश त केपी ओलीको पक्षमा आयो । यसरी हेर्दा उनले चाहेको कुरालाई जनताले मन पराए । तर यिनीहरुको भित्री कुरा एक हुन्छ । बाहिर अर्को हुन्छ । माधवकुमार नेपालले ओली र प्रचण्डबीच भएको सम्झौता पालना गर्न आफूहरु बाध्य नभएको बताइसकेका छन् । यसरी यस्तो कुरा राखेपछि सकिएन त ? यस्ता वाचा र हारगुहारको कुनै अर्थ छैन । किनभने ति कुराहरु पालना नै हुँदैनन् । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।