काठमाडौं पुस, २–
सिंहदरबारबाट सरकारी गाडीको टायर चोरी गर्ने सरकारी कार्यलयकै चालक भएको प्रहरीले खुलासा गरेको छ । गत शुक्रबार सिंहदरबारबाट चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएपछि टायर चोरीमा सरकारी चालकनै संलग्न रहेको प्रहरीले खुलाएको हो ।
स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।
शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेको गाडीको आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको चालक श्रीकृष्ण श्रेष्ठले बताएका थिए ।
प्रहरीले घटना सार्वजनिक भएको केही घन्टामै चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको छ ।
स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
रातको समयमा टायर खोलेको र विहान ७ बजे सर्भिस सेन्टर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चोरीमा प्रयोग भएको जग सर्भिस सेन्टरबाट लगेको खुलेको छ ।
प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ परेको छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।