काठमाडौं मंसिर, २८–
सरकारले आउदो सोमबार प्रदेशको अस्थाई मुकाम तोक्ने तयारी गरेको छ । बिहिबारनै मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम तोक्ने चर्चा चलेपनि आज मन्त्रिपरिषद् बैठक नै नराखिएकाले मुकाम तोक्ने मिति तीन दिन पर सरेको बुझिएको छ ।
बिहीबार क्याविनेट बैठक नबोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी गराए । उनले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार नियमित बैठक बसेकाले अर्को बैठक आउदो सोमबार मात्रै बस्ने बताए ।
सोमबार बस्ने बैठकले सात प्रदेशको राजधानी तोक्ने बालुवाटार श्रोतको भनाई रहेको छ । तर, आम निर्वाचनपछि यो सरकार कामचलाउ भइसकेकाले निर्वाचनमा ठुलो दल बनेको एमालेले काम चलाउ सरकारलाई मुकाम तोक्ने अधिकार नभएको भन्दै कुनै निर्णय नगर्न चेतावनी दिदै आएको छ ।
एमालेले सरकारले सोमबार सरकारी संस्थानमा गरेका नियुक्तिलगायतका विषयमा समेत असहमति जनाउदै आएको छ । एमालेको यो चेतावनीपछि प्रदेशको मुकाम तोकेपनि प्रदेश प्रमुखको नियुक्तिका बारेमा भने प्रधानमन्त्री देउवाले कुनै निर्णय गर्न सकेका छैनन् ।