२३ मंसिर, काठमाडौं–
नेपाली कांग्रेसले सर्वत्र पराजय बेहोरिरहेकाबेला काठमाडौं १ मा प्रकाशमान सिंहले जित हात पारेका छन् । उनले सर्वाधिक चर्चामा रहेका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।
प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् ।
निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।
मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।
वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।