बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

के हो निर्वाचनमा मौन अवधि भनेको ? मौन अवधिमा के गर्न हुदैन ?

मंगलबार, मंसिर १९ २०७४

काठमाडौं मंसिर, १९–
मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । दोस्रो चरण अन्तरगत ४५ जिल्लामा २१ गते निर्वाचन सम्पन्न हुन लागेको छ । निर्वाचन आयोगले मौन अवधिमा राजनैतिक दल तथा उम्मेदवारले के गर्न हुने र गर्न नहुने भन्नेबारे प्रष्ट पारेको छ । आयोगले प्रष्ट रुपमा विभिन्न नीति नियम बनाएर मौन अवधि बनाए पनि बेला बेलामा विभिन्न राजनैतिक दलले मौन अवधिमा समेत राजनैतिक प्रचार प्रसार गरेका घटनाहरु सार्वजनिक भैरहेका हुन्छन् । मुख्यतायाः मौन अबधि भनेको निर्वाचन हुनु भन्दा ४८ घण्टा पहिले जारी गरिने व्यवस्था हो । यो मौन अवधि नेपालमा मात्र नभएर विश्वभर गरिने अभ्यास समेत हो । निर्वाचन आयोगका अनुसार मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार गर्न तथा प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।

आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट हुँदैन । 

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौनअवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाउनुपर्छ ।

एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

मौनअवधिमा उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन ।

मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
मौन अवधि किन गरिन्छ भनेर धेरैलाई जिज्ञासा समेत उत्पन्न भएको हुन सक्छ । मौनअवधि यसकारण गरिन्छ, (निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । 

निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ ।

राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिन्छ ।

निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । 

मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।