बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतगणनास्थलमा सीसी क्यामेरा जडान

मंगलबार, मंसिर १९ २०७४

 दार्चुला मंसिर, १९–
मत गणनालाई सुरक्षित बनाउन दार्चुलाको जिल्ला सदरमुकाम खलंगामा रहेको मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको छ । सदरमुकाम खलंगामा रहेका दुईवटा   मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको हो ।

२१ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको बताईएको छ । 

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी आवास गृहका दुई कोठामा गरिने मतगणना कार्यलाई व्यवस्थित, पारदर्शिता र धाधलीरहित बनाउन मतगणना स्थलमा सीसी क्यामरा र तारजाली समेत राखिएको हो । 

सीसी क्यामराबाट मतगणना कार्यको मूख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी मतगणना स्थलमा निरन्तर विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर दुईवटा फरकफरक विद्युत् लाइन जडान गरिएको छ ।

मूख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना मतगणना अधिकृतहरुले मतगणना गर्नेछन् । दुई कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र एक जना कार्यालय सहयोगी मतगणना स्थलमा रहनेछन् ।

राजनीतिक दलहरुका तर्फबाट प्रत्येक उम्मेदवारको एक–एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गराइनेछ ।

मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई रात दिन जारी राख्नेछन् भने राजनीतिक दलका प्रतिनिधिहरुलाई सिप्ट परिवर्तन छुट दिइनेछ ।