काठमाडौं मंसिर, १९–
सरकारले अपरिचित व्यक्ति वा शंकास्पद बस्तु देखेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । पछिल्लो समय देशभर भइरहेका बम विष्फोटका घटनाबाट निर्वाचनमा अवरोध पुगेको भन्दै सरकारले सार्वजनिक सूचना मार्फत सर्वसाधरणसँग सहयोगको लागि आग्रह गरेको हो ।
गृह मन्त्रालयले ‘अत्यन्त जरुरी’ भनेर सार्वजनिक सूचना जारी गरेको छ जसमा अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद बस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।
सार्वजनिक सूचनामा ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटनाहरु घटाउने, सर्वसाधारणहरुलाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउन्डमा बम विस्फोटन गराउने जस्ता गतिविधिहरु गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख छ ।
पूर्वमन्त्री, चुनावका उम्मेदवार र सर्वसाधारण नै घाइते हुने गरी बम आक्रमण भइरहे पनि सरकारले यी घटनामा कसको संलग्नता छ भनेर एकीनका साथ भन्न सकेको छैन । निर्वाचनको विरोध गर्दै विप्लव समूहको यस्ता घटनामा संलग्नता रहेको सुरक्षा संयन्त्रको अनुमान छ । उता गृह मन्त्रालयले बम विष्फोटका घटनामा ‘निर्वाचन विरोधी’को संलग्नता मात्र भनेको छ ।