बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगको आँकडा- ६५ प्रतिशत भन्दा धेरै मतदान भयो, दुईवटा केन्द्रमा मतदान स्थगित

आइतबार, मंसिर १० २०७४

काठमाडौँ  मंसिर, १०–
आईतबार सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ६५ प्रतिशत भन्दा धेरै मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।  

निर्वाचन आयोगको  संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ । आज भएको मतदान अन्तरगत सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको आयोगको भनाई छ । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगको अनुमान रहेको छ । 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज मतदान भएको छ । 

आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

आज भएको मतदानमा मु्ख्य निर्वाचन अधिकृतले दिनुभएको जानकारी अनुसार, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ५ को रत्न मा.वि. ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ । 

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने व्यवस्था मिलाउने आयोगले जानकारी दिएको छ । 

यादवका अनुसार आज मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम समेत शुरू भइसकेको छ । 

आयोगले मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको  जनाएको छ ।