बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेर्यो आयोगले बोली, ‘हामीसँगको सहमतिमा सरकारले कर्मचारीको सरुवा गरेको हो’– प्रमुख निर्वाचन आयुक्त

शुक्रबार, मंसिर ८ २०७४

काठमाडौँ मंसिर, ८–

निर्वाचन आयोगले कर्मचारी सरुवमा सरकारलाई दिएको जवाफमा फेरबदल गरेको छ ।  निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने बताएको आयोले बोली फेर्दै सरकारले अहिलेसम्म आचारसंहिता उल्लंघन नगरेको बताएको छ । उसले  सरकारसँग २४ घण्टाभित्र काज सरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल माग्ने निर्णय गरेको थियो । 

सरकारले ६ जना उपसचिवको काज सरुवा गर्ने निर्णय गरेकोमा निर्वाचन आयोगले अस्वीकार गरेको थियो। गृह मन्त्रालयले यही मंसिर ५ गते काज सरुवाका लागि पत्र पठाएको थियो ।

शुक्रबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गरेको समेत स्पष्ट पारे । उनले भने,‘सरकारले आचार संहिताको पूर्ण पालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गर्नुभएको छ।’ यादवले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे,‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं।’

उनले सरकारले आचारसंहिताको पालना गरेको बताउँदै भने, ‘सरकारले जे जस्तो काम गरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ, आचारसंहिता पालनामा पालनाको मात्रा कम वा बढि त भैहाल्छ नि। तर आचारसंहिता नै पालना भएन भन्नु गलत हुन्छ ।’

यादवले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न उम्मेदवार तथा दलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे । 

यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेका छन् । 

उनले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् । 

उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए । 

उनले भने,‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जित बनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृहमन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ।’