काठमाडौं मंसिर, ८–
शुक्रबार बन्दको हल्लै हल्लाले राजधानीमा सवारी आवागमन प्रभावित भएको छ । गएको हप्तादेखि सामाजिक सञ्जालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि आज उपत्यकाको सवारी आवागमन प्रभावित भएको हो । शुक्रबारको बन्दको बिषयलाई लिएर बिहिबार सामाजिक सञ्जाल र केही अनलाइनहरुमा विप्लवले बन्द नगर्ने भएका समाचार पनि नआएका होईनन् । फेरि लेनिन बिष्टले नेतृत्व गरेको पूर्वमाओवादी लडाकु समूहले बन्द गर्न लागेका खबरहरु प्रचार प्रसारमा आउन पुगे । बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै विज्ञप्ती निकालेर आफूहरुले कुनै पनि खालको बन्द नगरेको प्रष्ट पारिसकेका थिए ।
बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विगतको तुलनामा उपत्यकामा आज कम सवारी गुडेका छन् । हल्लाको प्रभाव उपत्यका बाहिर जाने सवारी साधनमा समेत परेको छ ।
निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका उपत्यकाका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।
नेपा हल्लै हल्लाको देश हो भनेर कुनैबेला कविहरुले त्यतिकै कविता लेखेका होईन रहेछन् ।