काठमाडौं मंसिर, –
नेपाली कांग्रेसका नेता एवम् नकेन्द्रीय निर्वाचन परिचाल कमिटिका संयोजक बालकृष्ण खाँडले वामपन्थीहरुले बहुमत ल्याए यहि निर्वाचन सधैका लागि अन्तिम निर्वाचन हुने ठोकुवा गरेका छन् । उनले उनीहरुले बहुमत ल्याए यो मुलुकमा कहिले पनि निर्वाचन नहुने समेत दाबी गरे ।
बुधबार पार्टी निकट बुद्धिजीवीहरुसँगको छलफलमा बोल्दै खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचननै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि बताएका हुन् ।
नेता खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिदै आएको भन्दै उक्त अभिव्यक्तिले मुलुकमा चुनावनै हुन नदिने संकेत गरेको तर्क गरे ।
५ वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलेनै उनीहरुको वास्तविक चरित्र उदांगो भएको नेता खाँडको भनाई छ ।