काठमाडौं मंसिर, ६–
आसन्न निर्वाचन लक्षित वाम गठवन्धनको चुनावी सभा आज बुटवलमा हुने भएको छ । हिजो चितवनको चुनावी सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी सभामा सहभागी नहुने भएका छन् । बुटवलको वाम गठवन्धनको चुनावी सभालाई सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्ने बताईएको छ ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । आयोजकले पनि ओली र प्रचण्ड मुख्य वक्ता भनेर तस्वीरसहितको व्यानर र पोष्टरहरु तयार पारेका थिए । तर छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले चुनावी सभालाई सम्वोधन नगर्ने भएका हुन् ।
मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित मात्रै भए, सम्वोधन गरेनन् ।
हिजो चितवनको सभामा सामेल हुन गएका प्रचण्ड बुधबार दिउँसो काठमाडौं फर्किँदैछन् ।
जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी भएर प्रचण्ड काठमाडौं फर्किने तयारीमा रहेका छन् । मंगलबार चितवनमा आयोजित सभामा गीत गाउँदागाउँदै अस्वस्थ भएका पाख्रिनको नारायणी सामुदायीक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
आज चितवनको माओवादी कार्यलयमा पाख्रिनको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।