काठमाडौं मंसिर, ३–
प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको खबर पाए लगत्तै विभिन्न राजनैतिक दलका नेताहरु राजधानी फर्कने क्रम बढेको छ ।
प्रकाशको निधन पाए लगत्तै झापाको कार्यक्रम छोडेर काठमाडौं आईपुगेका माओवादी अध्यक्ष प्रचण्ड लाजिम्पाटस्थित निवासमा पुगेर श्रीमती सीतासहित नर्भिक अस्पताल पुगेका छन् ।
प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।
त्यस्तै, प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।
प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा रुहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । उनी आईतबार काँकडभित्ताको चुनावी कार्यक्रममा सहभागि हुने र भोलि सोमबार मात्रै काठमाडौं आउने कार्यक्रम रहेको छ ।
त्यस्तै, प्रकाशको निधनको खबर पाएसँगै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई काठमाडौं आउदैछन् ।
विभिन्न दलका शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । त्यस्तै, एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल पुगेका थिए ।
कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।
माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् ।