काठमाडौं कात्तिक, ३०–
बिहिबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रंका अध्यक्ष प्रचण्ड चारवटा चुनावी सभामा सहभागि हुने भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रचार–प्रसारका क्रममा उनीहरुले आज स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा हुने चारवटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
केन्द्रीय निर्वाचन परिचालन कमिटिले जनाए अनुसार ओली र दाहालले स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने भएका हुन् ।
दुवै अध्यक्षले आममतदाताको मनोवल माथि उठाउन सम्वोधनका क्रममा अपिल गर्ने बताइएको छ । साथै, सरकारी निकायबाट हुनसक्ने धाँधलीबारे पनि जनतालाई सचेत गराउने बुझिएको छ । ओली र दाहालले हिजो गोरखा र लमजुङमा आयोजित पाँचवटा चुनावी सभालाई सम्वोधन गरेका थिए ।
पाँचवटै चुनावी सभामा जनताको उल्लेखनीय सहभागिता रहेको थियो । निर्वाचन परिचालन कमिटिले चुनावी अभियानका क्रममा वामगठबन्धनको पक्षमा देशभर जनलहर उर्लिएको जनाएको छ ।