बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३३५ महिलाले दिए दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी

शुक्रबार, कार्तिक १७ २०७४

 
काठमाडौ कात्तिक, १७ं– 
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो । 

निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

यसअघि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दिनुभएको थियो । यही कात्तिक ५ गते भएको उम्मेदवारी मनोनयन दर्तामा प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ महिलाले उम्मेदवारी दिएका थिए  ।

पहिलो चरणमा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ । जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ । 

सञ्जालले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले जानकारी  दिए । रासस