काठमाडौं कात्तिक, १६–
चन्द्रागिरि हिल्स लिमिटेडको चन्द्रागिरि केबलकार तथा टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिने बारे सम्झौता भएको छ ।
बिहिबार भएको सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु तथा यात्रुहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको हो ।
सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरुको तथा यात्रु महानुभावहरुको छुट सम्बन्धी व्यवस्था अलग अलग रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
सम्झौतामा उल्लेख भए अनुसार कर्मचारीको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रु महानुभावहरुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका हुन् ।
सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज रहेका छन् । एयरलाइन्सले विश्वका ३०० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ ।
त्यस्तै, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अघि बढिरहेको छ ।