काठमाडौं कात्तिक, १५–
आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रदेश २ नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच केही स्थानमा चुनावी तालमेल हुने भएको छ ।
कांग्रेस र राजपाबीच भएको सहमति अनुसार दुई दलले एक अर्काका शीर्ष नेताहरुलाई निर्वाचनमा सघाउने छन् । जसमा राजपाले धनुषा–३ मा बिमलेन्द्र निधि र राजमार्ग क्षेत्रमा पर्ने केही निर्वाचन क्षेत्रमा सघाउने सहमति भएको हो ।
गएराति कांग्रेस र मधेशवादी दलहरुबीच महोत्तरी, सर्लाही र धनुषाका पाँच निर्वाचन क्षेत्रमा चुनावी तालमेल राजपा महासचिव केशव झाले बताए ।
दुई दलबीच भएको सहमतिमा धनुषा–३, महोत्तरी–२ र ३ तथा सर्लाही–२ र ४ निर्वाचन क्षेत्रमा एक अर्कालाई चुनावमा सघाउने सहमति भएको उनको भनाई छ ।
जस अनुसार धनुषा–३ मा राजपाले कांग्रेस नेता बिमलेन्द्र निधिलाई महोत्तरी–२ मा कांग्रेसले शरदसिंह भण्डारीलाई, महोत्तरी–३ मा महन्थ ठाकुर, सर्लाही–२ मा महेन्द्र राय यादव र सर्लाही–४ मा राजेन्द्र महतोलाई चुनावमा सघाउने सहमति भएको हो ।
उता अनिल झा र राजकिशोर यादवको निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्नेबारे कांग्रेससँग छलफल चलिरहेको मधेशी दलका नेताहरुले जनाएका छन् । राजपाका शीर्ष नेताहरु चुनाव लड्ने बाहेकका निर्वाचन क्षेत्रमा भने चुनावी तालमेल नगर्ने बताइएको छ ।