काठमाडौं कात्तिक, १५–
कांग्रेससँगको साथ छुटेपछि झापा ३ मा राप्रपालाई अब वाम गठवन्धनले सहयोग गर्ने भएको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देललाई कांग्रेसले सहयोग नगरेपछि एमाले र माओवादीले झापा ३ मा राप्रपाका लिङ्देललाई सहयोग गर्ने सहमति गरेका हुन् ।
बुधबार वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले झापामा पत्रकार सम्मेलन गरेरै उक्त कुराको जानकारी गर्ने तयारी गरेका छन् ।
झापा ३ मा कांग्रेसले यसअघिनै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ ।
एमाले झापाका अध्यक्ष चिन्तन पाठकले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने सहमति भएको जानकारी दिए । त्यस्तै, माओवादी नेता
राम कार्कीले पनि उक्त कुरामा सहमति भैसकेको जनाए ।
शुरुमा झापा ३ मा कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई समानुपातिकको सूचीमा राखेको थियो भने राप्रपाले लिङ्देनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
सिटौलाले प्रत्यक्षमै चुनाव लड्ने भनेपछि कांग्रेसले राप्रपासँग सहमति तोड्दै उनैलाई उम्मेदवारको रुपमा अघि सारेको छ । यो निर्णयले राप्रपासँग कांग्रेसको सम्वन्ध विग्रिएको छ ।
झापा ३ मा भद्रपुरका १ देखि ८ वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्दछ । केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिका पनि ३ नम्बर क्षेत्रमै पर्दछन् ।
यो क्षेत्रमा स्थानीय तह निर्वाचमा एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन् ।