११ कात्तिक, काठमाडौं–
आज बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
सप्तरीबाट काठमाडौं आउदै गरेको बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा अधिकांश मृतक तथा घाइते सप्तरीका रहेको प्रहरीको भनाई छ ।
उक्त दुर्घटनामा सप्तरी तिलाठीका रमानाथ झाको परिवारका मात्र पाँच सदस्यको मृत्यु भएको छ भने उनका एक आफन्तको समेत मृत्यु भएको छ ।
मृत्यु हुनेमा उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जित रहेका छन् ।
यस्तै संजीतका सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपता छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा बोदेबर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरी पनि रहेका छन् । छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएपछि यतिबेला प्रमाणी परिवार शोकमा डुबेको छ ।
बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको छ ।