काठमाडौं असोज, ३१–
बारामा नक्कली प्रमाणपत्र बनाउने सञ्जालका एक सदस्य पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न तहको नक्कली प्रमाण पत्र बनाएर बेच्ने एक व्यक्तिलार्य पक्राउ गरी सार्वजनिक गरेको हो ।
एसएलसीक नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी जागिर लगाउदै आएका सर्लाही इशवरपुर नगरपालिका–९ का अवधेश साहलाई प्रहरीले पक्राउ गरेको हो । उनले डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए ।
असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि विशेष सूचनाका अधारमा साहलाई सडकबाट नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनले बोकेको झोलामा खानतलासी गर्दा एसएलसीको नक्कली लब्धाङ्क पत्र भेटाएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता भुनेश्वर साहले जनाए ।
नक्कली लब्धाङ्क पत्र बनाउने सञ्जालमा बारा, पर्सा र रौतहटका केही व्यक्तिको समेत संलग्नता देखिएको भन्दै उनीहरु समेत छिट्टै पक्राउ पर्ने प्रहरीले जानकारी गरायो । व्य पक्राउ परेका साहलाई असोज २९ गते नै जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ ।