बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आर्थिक विकासको मेरुदण्ड साना उद्योग : मन्त्री थापा

सोमबार, असोज ३० २०७४

असोज ३०, काठमाडौँ – उद्योगमन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा आज भएको भेटमा उनले लघु, घरेलु तथा साना उद्योगबाट देशको अर्थतन्त्र फस्टाउने हुँदा यसको विकास आवश्यक रहेको बताए । 

मन्त्री थापाले “आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै हो, यसको विकासका लागि मेरो कार्यकाल लाग्नेछ,” भन्दै देशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको विकल्प नभएको बताए । 

निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउने छ, उनले भने – “निजी क्षेत्रलाई आइपरेको ऐन कानूनको समस्या समाधानका लागि सरकार लाग्नेछ ।” 

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । 

सरकारले ल्याएको योजनालाई कार्यान्वयन गराउन सके देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने पनि उनले बताए ।