बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके एमालेबाट उम्मेदवार

बुधबार, असोज २५ २०७४

काठमाडौं असोज, २५–
एमालेले आउदो प्रदेशसभा निर्वाचनमा  चर्चित गुन्डा नाइके दीपक मनाङ्गे अर्थात राजिव गुरुङलाई  उम्मेदवारमा सिफारिस गरेको छ ।

राप्रपाको मनाङ जिल्ला अध्यक्ष रहेका मनाङ्गे केही दिन पहिले मात्र एमाले प्रवेश गरेका थिए ।  प्रहरीको खोजी सूचीमा रहेका मनाङ्गे राजनीतिक संरक्षणका लागि एमालेमा प्रवेश गरेको स्रोतको दाबी छ  ।  उनलाई एमालेको मनाङ जिल्ला कमिटीले मनाङ– १ बाट प्रदेश सभाको सदस्यमा उम्मेदवारमा सिफारिस गरेको हो ।
 मनाङ्गेलाई प्रदेश सभाको टिकटका लागि सिफारिस गरेपछि मनाङमा लामो समयदेखि संगठन गर्दै आएका नेता कार्यकर्ता रिसाएका छन् ।

स्थानीय तहको निर्वाचनभन्दा अगाडि सुरक्षालाई ख्यालमा राखेर काठमाडौं प्रहरीले गुन्डा नाइके मनाङ्गेलाई पक्राउ गरेको थियो । खोजीको सूचीमा रहेका मनाङ्गेलाई अब प्रहरीले नै सुरक्षा दिनुपर्ने भएको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रविन्द्रबहादुर धानुक प्रमुख बनेर आए लगत्तै गुन्डा नाइके मनाङ्गेका दुश्मन अर्का गुन्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे’ पक्राउ परेका थिए ।

यता सुरुदेखि नै एमालेमा लागेका मिलन चक्रे भने प्रहरीबाट छुटे लगत्तै बिदेश गएका छन् । चक्रे केही समय बिदेश बसेर फर्कने र गोरखामा बाबुराम भट्टराईलाई चुनावमा सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

मनाङ्गे बिगतदेखि नै ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । मनाङ्गे पछिल्लो समय जडिबुटी तस्करी, सुन तस्करीदेखि ठेक्कापट्टामा संलग्न रहेको प्रहरीमा रेकर्डमा उल्लेख छ ।