काठमाडौं असोज, २४–
चुनावी तालमेल देखि पार्टी एकीकरणसम्मको सहमति गरेका एमाले र माओवादी केन्द्रको विभिन्न बिषयमा छलफल गर्ने भन्दै बैठक सुरु भएको छ । उनीहरुको बीचमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा पनि समान धारणा बनाउन छलफल सूरु भएको बुझिएको छ ।
मंगलबार सिंहदरबारमा २ दलका प्रमुख नेताहरु राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माणका विषयमा समान धारणा बनाउन आपसी छलफलमा जुटेका हुन । माओवादी केन्द्रका एक नेताले जनाए अनुसार संसदको कार्यकाल सकिनै लागेकाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउनेलगायतका मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक राखिएको हो ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन भएलगत्तै संसदको कार्यकाल सकिन्छ ।
सोही कार्यकाल अघि नै राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन निर्माण गर्नुपर्ने हुन्छ । सोही विषयलाई छिटो टुंगोमा पु¥याउन प्रमुख प्रतिपक्ष एमाले र माओवादी केन्द्रबीच समान धारणा बनाउन आन्तरिक छलफल गरिएको हो । दलहरुबीच एकल वा बहुमतीय कुन प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन गर्ने भन्ने सम्बन्धमा सहमति जुटन बाँकी छ ।
उता दुई दलबीच चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र निर्धारण र चुनावी घोषणा पत्र निर्माणको कामलाई पनि तीव्रता दिइएको छ ।