सिरहा असोज, २४–
सिरहामा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट वडा सदस्य उम्मेदवार बनेकी महिलाको श्रीमानको हत्या भएको छ । जिल्लाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा आफ्नै घरमा सुतिरहेको वेला गएराती शशिभुषण प्रसाद साहको धारीलो हातियारले घाटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।
राती अवेर मिर्चैयाबाट साथीहरुसँग मदिरा सेवन गरी आएका उनी काठको दुइतल्ले घरका भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए ।
माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ ।
साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुदामा जेल सजाय भुक्तान गरी घर आएको बुझिएको छ ।
असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर वनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् ।