भक्तपुर असोज, २४–
हिजो मात्र हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । उनले भोलि साँझसम्म सरकारले आफ्ना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताए ।
अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उनले जानकरी दिए ।
हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझ्ने समते उनले चेतावनी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटिका बिभिन्न पदाधिकारीलाई आएको फोनका साथै उनले बताए ।
सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध गर्नुपर्ने भन्दै उनले अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरे । सरकाले हत्याराको खोजीलाई तिव्रता दिएको छ यसको प्रतिफल छिट्टै निस्कनेमा समेत व्यवसायीहरु आशावादी देखिएका छन् ।