बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अख्तियारद्वारा लगानी विवरण माग

आइतबार, असोज २२ २०७४

असोज २२, काठमाडौँ – बैंक कर्जा लिएर जबरजस्ती गुज्रेको म्याद थप्दै भाका बढाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकबाट एक अर्ब रुपैयाँभन्दा बढीको लगानी विवरण झिकाएको छ।

गैरकानुनी कर्जा प्रवाहमा अनुसन्धान प्रयोजनका लागि दशैंअघि विवरण झिकाएको हो। अख्तियारले एक अर्बभन्दा बढी ऋण लिई चुक्ता हुन बाँकी भाखा नाघेका व्यापारिक फर्म, उद्दोग, संस्था एवं कम्पनीहरूको विवरण झिकाएको छ। उद्योग, व्यवसायका लागि भन्दै ठूलो परिमाणमा लिएको ऋण दुरुपयोग भएको भन्दै छानबिनका माग राखेर अख्तियारमा परेको उजुरीका आधारमा राष्ट्र बैंकबाट सबै फेहरिस्त झिकाइएको हो।

ऋण लगानीको अवस्था जोखिमपूर्ण र शंकास्पद रहेको दाबीसमेत उजुरीमा थियो। अख्तियारको पत्रअनुसार राष्ट्र बैंकले मुलुकभरका बैंकबाट विवरण संकलन गरी बाध्यकारी रूपमा पठाउनुपर्ने छ। “अख्तियारले एक अर्बभन्दा बढी ऋण लगानीको अवस्थाबारे बुझ्न राष्ट्र बैंकबाट विवरण झिकाएको हो”, अख्तियार उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, “अहिले प्रारम्भिक जानकारीका लागि हो। कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएमा कानुनअनुरूप अनुसन्धान तहकिकातको काम अघि बढ्छ।” यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।