काठमाडौं असोज, ८–
नेपालमा सर्वाधिक विवादमा तानिएको नेपाल आइडल कतारमा पुग्दा समेत विवादरहित हुन सकेन । सुरु सुरुका एपिसोड प्रसारण हुदा दर्शकले नेपाल आइडलका बारेमा त्यति चासो दिएका थिएनन् । तर, जब नेपाल आइडलका प्रतिस्पर्धीहरु २० जनामा पुगे तब धेरैजसो नेपाली दर्शकले नेपाल आइडलकाबारेमा बिशेष चासो राख्न थाले । संचारमाध्यामहरुमा समेत नेपाल आइडलका गतिबिधि समाचार बन्न थाले । नेपाल आइडलका जजहरुका गतिविधि र उनीहरुका प्रतिकृया विवादित बन्न थाले । जब, नेपाल आइडल गाला राउन्डमा प्रबेश गर्यो नेपाल आइडल थप विवादित बन्न पुग्यो । गेष्ट जजका रुपमा रामकृष्ण ढकाल आएको एपिसोड पनि विवादरहित बन्न सकेन ।
नेपाल आइडल विवादको घेरबाट बाहिर निस्कन झन्झन् मुश्किल हुन पुग्यो । गाला राउन्डमा आईपुगेका चार जना प्रतिस्पर्धीहरु मध्ये एकजनालाई आउट गनुपर्ने दिन जजहरुले आफ्नो पावर प्रयोग गरेर एक हप्तासम्म लम्बाउन पुगेपछि नेपाल आइडलको विवाद झन् उत्कर्षमा पुग्यो । अदालतमा नेपाल आइडलबिरुद्ध मुद्दा समेत पर्यो । सामाजिक संजालमा नेपाल आइडल र आयोजक एपी वान टेलिभिजन बिरुद्ध बिरोधका बर्षा हुन थाले । आयोजकले भोटीङ मार्फत पैसा कमाउन खोजेको आरोप लाग्न पुग्यो । आयोजकले थपिएको एक हप्ता एसएमएसको पैसा नलाग्ने घोषणा समेत गर्नुपर्यो । चारजना प्रतिस्पर्धी मध्ये भोटिङको आधारमा जब सागर आले बाहिरिए त्यसपछि जम्मा प्रतिस्पर्धी तीन जना मात्र हुनपुगे ।
आयोजकले फाइनल कतारमा गर्ने तयारी गरेका कुराहरु सार्वजनिक भैरहेका थिए । सामाजिक संजालमा कतारमा गरिन लागेको फाइनलको बिरोध भैरहेको थियो ।
नेपाली जनताले बिरोध गरेतापनि नेपाल आइडलका हरेक एपिसोडलाई निरन्तर साथ दिईरहेका थिए ।
जब, आयोजक टिम १२ जना नेपाल आइडलका प्रतिस्पर्धीलाई लिएर कतार प्रस्थान गर्यो हरेक नेपाली सेप्टेम्बर २२ यानेकि भदौ ६ गतेको प्रतिक्षामा बसिरहेका थिए । तर, अफसोच, निर्धारित समयमा नेपाल आइडल कतारबाट नेपालमा प्रसारण हुन सकेन । एपी वान टेलिभिजनमा दुईजना पत्रकारले एकजना अतिथिसँग कुरा गर्दै अब केही क्षणमा हाम्रो कतारबाट नेपाल अइडल प्रसार हुन्छ भनेर झुठ बोलिरहे । नेपालीहरु ज्ञानी बनेर नेपाल आइडलको प्रतिक्षामा बसिरहे तर, नेपाल आइडल आधा रात बित्दा पनि नेपालमा प्रसारण हुन सकेन । सामाजिक संजालभरी नेपाल आइडलको बिरोध भैरह्यो । नेपालमा विवादित बनेको नेपाल आइडल कतार पुगेर पनि अछुतो रहन सकेन । एकमहिना पहिलेदेखि कतारबाट नेपाल आइडलको फाइनल प्रसारण गर्ने भनेपछि प्राविधिक बिषयमा तयारी नहुनु आयोजक एपी वानको लाचारीपना हो । एकमहिना पहिलेदेखि कतारबाट प्रसारण गर्नेभनेपछि सामान्य परिक्षणसम्म नगर्नु एकदमै लापरवाही काम हो । अब आईन्दा आयोजकले यस्ता किसिमका कार्यक्रम आयोजना गर्ने आँट गर्छन या गर्दैनन् हेर्न बाँकी छ ।
नेपालमा बस्ने नेपालीले एपी वानको प्राविधिक समस्याले नेपाल आइडल हेर्न पाएनन् भने उता कतारमा रहेका नेपालीहरुले टिकट काटेर पनि आयोजकको गैरजिम्मेवारी र चरम लापरवाहीले कार्यक्रम हेर्न पाएनन् ।
धेरे दर्शकको गुनासो नेपाल आइडल नेपालमै प्रसारण भए हुदैनथ्यो किन कतारमा गर्नुपरेको ? सामान्य रुपले सोंच्ने हो भने ठिकै छ नि त कतारबाट प्रसारण गरेपछि नेपाली म्युजीकलाई बिश्वव्यापी रुपमा फैलाउन सकिन्छ । नेपाली म्यु्जीककै विकास हुन्छ । तर, कुरो त व्यापारी पो रहेछ । कतारबाट नेपाल आइडल प्रसार गर्नुको मुख्य उदेश्य भनेको त आयोजकले टन्न कमाउनलाई पो रहेछ । आयोजकले नेपालमा फाइनल गरेको भए कहाँबाट कमाउनु ? तर, कतारमा त टिकटै बेचेर आयोजक मालामाल बनेका छन् । एउटा भोट बराबर आयोजकले करिब ६ रुपैंया कमाउछन् ।
करिब ११ करोड भोटिङबाट आयोजकले कम्तीमा पनि ६६ करोड कमाएका छन् । अर्को कुरा नेपालमा फाइनल गरेको भए सार्वजनिक ठाँउमा कार्यक्रम हुने थियो टिकटबाट कमाउने सम्भावना थिएन । त्यसैले आयोजकले कतारमा फाईनल गरेर करोडौ कुम्ल्याउन सफल भए ।
कतारको कार्यक्रम अस्तव्यस्त
नेपाल आइडलको फाइनल कतारमा गर्ने भनेपछि कतारमा बस्ने नेपालीहरु महिनौदेखि उत्साहित थिए । आयोजकले कतारमा कार्यक्रम गर्ने महिनौपहिलेदेखि तयारी गरेपछि कतारमा अनुमानित दर्शक कति हुन्छन् भन्ने पक्कैपनि अनुमान गरेको हुनुपर्छ । तर, कतारमा कार्यक्रम गर्नलाई अरु ठुला र धेरै दर्शक अट्ने ठाँउ हुदाहुदै आयोजकले त्यहि साँघुरो ठाँउ रोज्नपुग्यो र कार्यक्रम भद्रगोल बन्नपुग्यो ।

लामो समयदेखि कतारमा रहदै आएका रोल्पा जलजला सेवा समाज कतारका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समितिका संयोजक वसन्त थापाका अनुसार १८ हजार सिट क्षमता भएको हलमा ३० हजार दर्शकको उपस्थिती रहेको थियो । । टिकटदर कतारको अनुसार ३५, ५०,७५, १००, २००, ५०० तथा १००० दरको राखिएको थियो । ५०० सय र १००० दरको टिकट भिआईपी सिटको लागि भनेर तोकिएको थियो । १६ हजारको क्षमतामा ३० हजार दर्शकलाई टिकट बेचेर आयोजकले जानाजान पैसा कमाउन खोजेको देखिन्छ । टिकट काटेकाहरुपनि बाहिर बसेर कार्यक्रम हेर्नबाट बंचित भएको थापाको भनाई छ । कार्यक्रम अस्तव्यस्त यति थियो कि प्रहरीले टिकट काटेका सहभागिहरुमाथि समेत डण्डा बर्षाएका थिए । कार्यक्रम हेर्नको लागि कार्यक्रमस्थल पुगेका सहभागिहरुलाई भित्र पस्न नदिएपछि उनीहरुले पानीका बोतलले प्रहरीलाई हानेका थिए । उनीहरुले बोतल प्रहार गरेको केहीबेरमा थप प्रहरी आएर लाठी बर्षाउदा भागदौड मच्चिदा कतिका मोवाईल तथा जुताचप्पल समेत हराएको थापाले जनाए । कार्यक्रम हेर्न आएका कतिपय दर्शक जुता चप्पल तथा मोवाईलबिहिन भएका थिए । आयोजकले उचित ध्यान दिन नसक्दा र कार्यक्रमको उचित व्यवस्थापन हुन नसक्दा यो समस्या आएको थापाको भनाई छ । उनका अनुसार कतारमा अहिलेसम्म भएका नेपाली कार्यक्रममा यति धेरै दर्शक भएको पहिलोपटक हो । कार्यक्रममा जे जस्तो समस्या आएपनि जति अस्तव्यस्त भएपनि कतारमा नेपाल आइडलको फाईनल कार्यक्रम हुनु राम्रो पक्ष भएको कतारमा रहेको नेपालीहरुको भनाई रहेको थापाको भनाई छ ।
नेपाल आइडल कार्यक्रम अस्तव्यस्त र भद्रगोल भएपछि आयोजकको तर्फबाट कार्यक्रम संचालिका रीमा बिस्वकर्माले कतारमा रहेका नेपालीसमक्ष माफी मागेको थापाले जानकारी गराए ।