काठमाडौँ – बहुचर्चित रियोलिटी शो नेपाल आइडलको पहिलो उपाधी विजेता बुद्ध लामा भएका छन् । ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भोटमा पोखराका बुद्धलाई मात्रै ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट आएको थियो । यस्तै निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेण्ड रनरअप भएका छन् ।
निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए । नेपाल आइडल भएका बुद्धले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।
कतारको दोहामा आयोजित ग्रान्ड फिनामलीमा बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे । नेपाल आइडलको यो नतिजा अपेक्षित थियो ।