काठमाडौं भदौ, २३–
एपी वान टेलिभिजनबाट प्रशारण हुदै आईरहेको रियालिटी शो नेपाल आइडलविरुद्धको मुद्दा खारेज भएको छ । नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा शुक्रबार खारेज भएको हो
न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षको बहस सुनेपछि निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।
नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । त्यहि भोटका भेटका आधारमा १६ गते एकजना सहभागीलाई आउट गर्नुपर्नेमा कसैलाई पनि आउट गरिएको थिएन । पहिलेदेखिनै विवादित बन्दै आएको नेपाल आइडल त्यसपछि झन् थप विवादित बनेको थियो ।
आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।
आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाउनका साथै आजसम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भोट गणना नगर्न नगराउन अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।