बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगामी निर्वाचन गृहजिल्लाबाटै लड्ने प्रचण्डको खुलासा

शुक्रबार, भाद्र २३ २०७४

चितवन भदौ, २३–
माओवादी अध्यक्ष प्रचण्डले अबको निर्वाचन आफ्नो गृहजिल्ला चितवनबाट लड्ने खुलासा गरेका छन् ।  

शुक्रबार प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनबाट संसदीय  चुनाव लड्ने खुलासा गरेका हुन् । चितवनबाट निर्वाचन लड्ने घोषणा गरेपनि अध्यक्ष प्रचण्डले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा लड्ने  भन्ने  टुंगो नलागेको जानकारी गराए ।
उनले भने, “पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ । देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेकोले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको हु ।”
अध्यक्ष दाहालले थपे,  “माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,”  । आफू चितवनबाट निर्वाचन लड्दै गर्दा यहाँको विकास र राष्ट्रिय राजनीतिमा यस जिल्लाको महत्व झल्कने उनको भनाइ थियो । 

“मेरो राजनीतिक क्षेत्र चितवन हुनु यहाँका जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु,” अध्यक्ष दाहालले भने । प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताए । कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने उनको भनाई थियो । 

“अहिलेको समयमा सत्ता गठबन्धन काँग्रेससँग भएकाले काँग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो,” उनले भने । शान्ति प्रक्रियाका सहयात्री एक ठाउँमा भएर अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्नतर्फ लागेको अध्यक्ष दाहालले बताए ।