बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश २ उम्मेदवार चयनमा कांग्रेसमा अझै विवाद

आइतबार, भाद्र १८ २०७४

भदौ १८, काठमाडौँ – कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनोटको विषयमा विवाद चुलिएको छ । विवादकै कारण कांग्रेसले शनिबार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन । शनिबार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू बैठक छाडेर निस्केका थिए । 

पूर्वमहामन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनोट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरू आक्रोशित भएका हुन् । तर, संस्थापन पक्षीय केन्द्रीय सदस्यले भने आइतबारसम्म सहमतिमै उम्मेदवार छनोट भइसक्ने दाबी गरे । कांग्रेसले प्रदेश २ को उम्मेदवार छनोटका लागि महामन्त्री शशांक कोइराला र प्रदेश २ का पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मा दिइएको छ । यसअघिका ६ वटा प्रदेशको चुनावमा भने स्थानीय संयन्त्रमार्फत उम्मेदवार छनोट गरिएको थियो ।

‘२ नम्बर प्रदेशको १३६ सिटमा केही दिएर एकलौटी ढंगले निर्णय गर्न खोजियो, त्यही कारण हामीले बैठकस्थल छाडेर निस्केका हौं,’ पौडेल पक्षीय एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘राम्रालाई भन्दा पनि हाम्रालाई उम्मेदवार बनाउन खोजिएको छ ।’ 

पौडेल पक्षले पार्टीको क्षेत्रीय समिति र सांसदहरूले दिएको सुझावका आधारमा उम्मेदवार बनाउनुपर्ने माग राख्दै आएको छ । तर, सभापति शेरबहादुर देउवा पक्षले भने नेता निधिले भनेअनुसार नै उम्मेदवार छनोट गर्ने अडानमा छन् ।

महामन्त्री कोइराला शनिबार राति ९ बजे ‘ल तपाईंहरू नै बसेर जे निर्णय गर्नुहुन्छ, गर्नुस्’ भन्दै बैठक छाडेर निस्केका थिए । लगत्तै पौडेल पक्षीय सबै केन्द्रीय सदस्य बैठकबाट निस्केको कोइरालानिकट स्रोतले जनायो । कांग्रेसले साउनभित्रै उम्मेदवार छनोट गर्ने भन्दै पहिलो साताबाटै छलफल थालेको थियो । प्रदेश २ मा आफ्नो प्रभाव बढाएर राष्ट्रिय राजनीतिमा उचाइ लिने महत्त्वाकांक्षासहित उम्मेदवार छनोटमा सक्रिय निधिले ८ वटै जिल्लाका अधिकांश नगरपालिकामा आफूनिकटलाई अघि सार्न थालेपछि पौडेल पक्ष झस्केको हो । 

शुक्रबारै उम्मेदवार टुंग्याउन भन्दै राति २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको थियो । विवादकै कारण नटुंगिएपछि शनिबार बिहान ११ बजेका लागि सारिएको थियो । बिहान ११ बजे बैठक भनिए पनि बैठक अपराह्न ४ बजे मात्रै बसेको थियो । पौडेल पक्षीय नेताहरूले अब 
सभापति शेरबहादुर देउवासहितको संसदीय समिति बसेर उम्मेदवार टुंग्याउनुपर्ने माग गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।