काठमाडौं भदौ, १२–
रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाईएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले जिल्ला शिक्षा आधिकारी चिरञ्जीवी पौडेललाई कालोमोसो र जुत्ताको माला लगाई दिएका हुन् ।
सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी पौडेललाई कालोमोसो लगाई दिएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले बताए । विद्यालयको ब्लक निर्माण तथा शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको आरोप सहित नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो तथा जुत्ताको माला लगाएको बताएका छन् ।
जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला बैठकमै पुगेर केहि युवाहरुले हातपात सहित कालोमोसो तथा जुत्ताको माला लगाएको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ । सुरुमा बैठक हलमा पुगेका ४÷५ जना युवाले जिशिअ पौडेललाई नमस्कार गर्दै सामान्य कुराकानी गरेको एक प्रत्यक्षदर्शीको भनाई छ ।
सामान्य सोधपुछ लगत्तै ‘हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्ने भन्दै ति युवाले हातपात सहित कालो मोसो र जुत्ताको माला लगाईदिएका थिए । त्यसपछि जिशिअले प्रतिवाद गर्दा उनीहरुले उनलाई लछारपछार गर्दै हातपात समेत गरेको प्रत्यक्षदर्शीले बताए ।
घटनामा संलग्न केहीको पहिचान भैसकेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्नहरुको खोजि भैरहेको बताए ।
हातपात र लछारपछारबाट टाउकोमा चोट लागेका जिशिअ पौडेलको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ ।