काठमाडौं भदौ, १२–
अवैधानिक तवरबाट सञ्चालन भइरहेको एभरेष्ट क्यासिनो बन्द गराउन पर्यटन विभाग लागिपरेको छ । सञ्चालन रोक्न पर्यटन विभागले गृह मन्त्रालयको सहयोग माग्ने संकेत देखाएको छ । अदालतको ‘स्टे अर्डर’को आधारमा सञ्चालन सुरु गरे पनि ‘स्टे अर्डर’ पाउने व्यक्ति बाहेकको व्यक्तिले क्यासिनो सञ्चालन गरिरहेको थाहा पाएपछि क्यासिनो निगरानी राख्ने जिम्मा पाएको पर्यटन विभागले गृह मन्त्रालयको सहायता लिएर उक्त क्यासिनो बन्द गराउने भएको हो ।
गृह मन्त्रालयबाट विभागले प्रहरी प्रशासनको सहयोग माग्ने संकेत देखाएको हो । नेपालको क्यासिनोसम्बन्धी नियमावली २०७० ले पाँच तारे होटल सञ्चालनमा रहेको अवस्थामा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था छ । तर भूकम्पपछि एभरेष्ट होटल सञ्चालन हुनसकेको छैन । पर्यटन विभागले क्यासिनोहरुको निगरानी राख्ने जिम्मा पाए पनि विभागको अनुमतिविनै क्यासिनो सञ्चालन भएपछि विभाग मूकदर्शक समेत बन्नपुगेको छ । एभरेष्ट क्यासिनो सञ्चालनमा अवैध प्रक्रियाहरु समेत समेटिएकोले विभागले थप कदम चाल्ने बताएको छ ।
‘स्टे अर्डर’बाहेकको व्यक्तिबाट सञ्चालन हुनु र होटल सञ्चालन नभई क्यासिनो सञ्चालन हुनु गैरकानुनी कार्य भएकाले विभागले उक्त क्यासिनो बन्द गराउने प्रयासमा गरेको बताएको छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालले आवश्यक परे गृह मन्त्रालयको सहयोग लिएरै भए पनि उक्त क्यासिनो बन्द गराउने बताए । उनले सञ्चालन नै गलत तवरबाट भएको देखिएकोले त्यसको गहन निगरानी सुरु भइसकेको जानकारी दिए ।
क्यासिनो सञ्चालनको लागि उच्च अदालतबाट वीरेन्द्र महर्जनले ‘स्टे अर्डर’ पाएका थिए । एभलोन इन्टरनेशनल प्रालिले होटल सञ्चालकबाट लिज(भाडा)मा लिएर क्यासिनो सञ्चालन गरेको हो । नेपालका क्यासिनो सञ्चालन गर्ने तथा बन्द गरेर हिँड्ने एक गिरोहको रोहबरमा नै एभरेष्ट क्यासिनो पनि सञ्चालन आएको देखिएको छ । भेनसलगायतका क्यासिनो सञ्चालन गर्ने र अप्ठ्यारो स्थिति देखिए बन्द गरेर हिँड्ने गिरोहहरु नै यसमा पनि संलग्न रहेको पाइएको हो ।
तप्तबहादुर विष्टको नेतृत्वमा रहेको गिरोहले एभरेष्ट सञ्चालन गर्न गएको पाइएको हो । वीरेन्द्र महर्जनको नाममा चक्रबहादुर शाहीको व्यवस्थापनमा एभरेष्ट क्यासिनो सञ्चालन गरेको बताइए पनि उनीहरुलार्ई बाहिर निकालेर अहिले उक्त गिरोहको रोहबरमा क्यासिनो सञ्चालन भइरहेकोे छ ।
होटल सञ्चालन रहेकै अवस्थामा बक्यौता तिर्न अटेर गरेको तथा सरकारले जारी गरेको क्यासिनोसम्बन्धी नियमावली–२०७० अनुसार दर्ता नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ साल वैशाख ५ गतेबाट पूर्ण बन्द गरेको थियो । क्यासिनो सञ्चालले हालसम्म पनि सरकारलाई तिर्नुपर्ने बक्यौता १० करोड ३५ लाख ६२ हजार तिरेको छैन । होटल सञ्चालकबाट एभोलनले १० वर्षका लागि वार्षिक ८० लाख रुपैयाँ तिर्ने गरी क्यासिनो लिजमा लिएको थियो । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।