काठमाडौं भदौ, ११– पाँच दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्कदै छन् । आज बेलुका साढे ६ बजे दिल्ली हुँदै प्रम देउवा राती ८ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ । यसअघि आईतबार प्रधानमन्त्री देउवाले विहारको बोधगया मन्दिरको दर्शन गरेका छन् । उनी बिहान नौ बजे बोधगया गएका छन् । प्रधानमन्त्री देउवाले भ्रमणको चौथो दिन शनिबार भारतको आन्द्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा विशेष पुजा गरेका थिए । हैदरावादबाट विशेष विमानमार्फत प्रधानमन्त्री देउवा तिरुपति पुगेर त्यसै दिन बोधगया फर्किएका थिए । त्यस्तै, शनिबारनै प्रधानमन्त्री देउवासँग विहारका मुख्यमन्त्री नितिश कुमारले भेट गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री कुमारबीच हालै नेपालको तराई र विहारका कतिपय सीमा क्षेत्रमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल भएको थियो । दुबै देशमा बाढीले पुर्याएको क्षति तथा बाढी नियन्त्रणका लागि दुबै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका थिए । गत बुधबार ४८ सदस्यी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली गएका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री, राष्ट्रपति, राजनीतिक दलका उच्च नेता तथा त्यहाँका उद्यमी व्यवसायीसँग भेटबार्ता गरेका थिए ।