काठमाडौं भदौ, ८–
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा फेरि पनि संविधान संसोधनको प्रयास गरिने बताएका छन् । देउवाले मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास गरिने बताएका हुन् । करिब आधा घण्टा मोदीसँगको भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै पारित गराउन फेरि पनि प्रयास जारी राख्ने बताएका हुन् ।
उनले भने, ‘राजपालाई चुनावमा ल्याउन र माग पूरा गर्न चाहेका थियौं तर दुई तिहाई नपुग्दा सम्भवन भएन’,संयुक्त पत्रकार सम्मेलनमा देउवाले थपे, ‘ भविष्यमा दुई तिहाई पुर्याई संशोधन गरेर माग पूरा गरी संविधान सर्वस्वीकार्य बनाउन सक्छौं ।’
संविधान संशोधन प्रयास असफल भएपनि राजपाले चुनावमा भाग लिने निर्णय गरिसकेको बताउँदै देउवाले नेपाल संविधान कार्यान्वयनको बाटोमा रहेको समेत बताए ।
यस्तै आतंकवाद, सीमा क्षेत्रमा हुने अपराधलगायतका समस्याको समाधानका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा देउवाको जोड थियो । देउवाले नेपाल भारतबीचको सम्बन्ध पुरानो रहेको उल्लेख गर्दै आपससी समझदारी र सहकार्यमा जोड दिए ।
उनले राष्ट्रपति भवनको पाहुना हुन पाउदा आफूलाई खुसी लागेको बताउँदै धन्यवाद समेत ज्ञापन गरे ।