काठमाडौं भदौ, ५–
सशस्त्र प्रहरी बल प्रधान कार्यालय लेखा शाखाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिलकुमार घिमिरेको जालझेलका कारण सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ दिन प्रतिदिन अप्ठेरोमा पर्दै गएका छन् । सांगठनिकभन्दा पनि व्यक्तिगत स्वार्थमा चल्ने र पैसाका लागि जे पनि गर्न पछि नपर्ने लेखा प्रमुख इन्सपेक्टर घिमिरेको व्यवहारका कारण महानिरीक्षक श्रेष्ठ अप्ठेरोमा पर्दै गएका हुन् ।
सशस्त्र प्रहरी बलमा आर्थिक मामिलामा अत्यन्तै इमान्दार मानिएका महानिरीक्षक श्रेष्ठलाई लेखा प्रमुख घिमिरेले भुलभुलैयामा राख्न सफल भएको स्रोतको दाबी छ । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको सोझोपन र आर्थिक मामिलाबाट टाढै रहने स्वभावका कारण लेखा प्रमुख घिमिरेको बद्मासी दिन प्रतिदिन बढ्दै गएको स्रोतको दाबी छ । लेखा प्रमुख घिमिरेले आफ्नो स्वार्थपूर्तिका लागि नियमको बहाना देखाउँदै हुने काम पनि नहुने भन्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई बद्नाम गराइरहेको बताइएको छ ।
लेखा प्रमुख घिमिरेको सेवा अवधि अब डेढ वर्ष मात्र बाँकी छ । अवकाशको मुखमा पुगेका घिमिरेलाई केन्द्रीय लेखाजस्तो सम्वेदनशील शाखाको जिम्मेवारी दिइराख्दा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ पछि ठूलै संकटमा पर्नसक्ने देखिएको छ ।स्रोतका अनुसार, लेखा प्रमुख घिमिरेको व्यवहारप्रति महानिरीक्षक श्रेष्ठ पनि सन्तुष्ट छैनन् । तर उनलाई त्यहीँ राखिराख्न महानिरीक्षक पत्नी सरिता गुरुङ श्रेष्ठको दबाब रहेको बताइएको छ । महानिरीक्षक श्रेष्ठ आर्थिक मामिलाबाट टाढै रहने स्वभावका कारण लेखा प्रमुख घिमिरेले महानिरीक्षक पत्नी गुरुङलाई आफ्नो हातमा लिन सफल भएको स्रोतको दाबी छ ।
लेखा प्रमुख घिमिरेलाई सशस्त्र प्रहरी बलमा चतुर लेखा अधिकृतका रुपमा लिइन्छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सेवा अवधि चार महिना मात्र बाँकी रहँदा निलम्वनमा परेपछि अनुसन्धानका सिलसिलामा तत्कालीन लेखा शाखा प्रमुख बिनबहादुर थापालगायतको समुह नै निलम्बनमा परेको थियो ।वन्तपछि महानिरीक्षक बनेका दुर्जकुमार राईले घिमिरेलाई लेखा शाखामा ल्याएका हुन् । घिमिरे पहिला राई एआईजी हुँदा उनकै लेखा अधिकृत थिए । केन्द्रीय लेखा शाखाका पूर्ववर्ती सबै प्रमुखहरु अख्तियारको कारबाहीमा परेपछि बागडोर सम्हाल्न आएका घिमिरेले हुने नहुने ‘नियम’ को बहाना देखाउँदै तत्कालीन महानिरीक्षक राईलाई प्रभावमा पारे । उनले महानिरीक्षक राईको दिमाग यसरी भुटेकी आफू पनि पूर्ववर्ती महानिरीक्षकजस्तै भ्रष्टाचार काण्डमा फसिने डरले राईले सामान्यभन्दा सामान्य फाइलमा समेत दस्तखत गरेनन् । राई मात्र होइन, लेखा प्रमुख घिमिरेले पनि आवश्यक कागजातमा समेत दस्तखत गरेनन् ।
घिमिरेले त यतिसम्म चलाखी गरेकी, कतिपय फाइलमा त जुनियर अधिकृतहरुलाई दस्तखत गर्न लगाएका छन् । उनको यस्तो कार्य अहिले पनि जारी छ ।वन्त निलम्बनमा परेपछि सशस्त्र प्रहरी बलको नेतृत्व नै डगमगाएको अवस्थामा घिमिरेको आगमनपछि पत्रपत्रिकालाई दिनुपर्ने विज्ञापनको जिम्मेवारी पनि आफै लिन सफल भए । तत्कालीन महानिरीक्षक राई र तत्कालीन प्रवक्ता शैलेन्द्र खनाललाई समेत प्रभावमा पार्दै उनले विज्ञापनमा एकछत्र राज गरे र आफूनिकट एजेन्सीलाई मात्र विज्ञापन दिन थाले ।
यहाँ चाखलाग्दो कुरा के छ भने उनी जसलाई विज्ञापन दिन्छन्, विज्ञापन छाप्नका लागि लेख्नुपर्ने पत्र भने दिदैनन् । कसैले विज्ञापन छाप्नका लागि पत्र चाहिन्छ भनेको खण्डमा उनी चाहिदैन भनेर तर्कसमेत गर्छन् । ‘विज्ञापन छापेको पैसा मैले भुक्तानी दिने हो, तपाईंहरुलाई पैसा भए पुग्दैन ?’ भनेर उनी उल्टै थर्काउँछन् । विज्ञापन एजेन्सीसँग उनले गरेको व्यवहार नै यही हो । खर्च घटाउने नाममा उनले विज्ञापन दिँदा झन मनलाग्दी गर्दै आएका छन् ।
विज्ञापन छापेपछि उनले एजेन्सीसँग कमिसन लिने गरेका छन् ।अन्य व्यक्तिलाई सहमत गराउन खोज्ने उनको शैली पनि चाखलाग्दै छ । उनी जसलाई पनि ‘हजुरलाई थाहै छ नि’ भनेर जबर्जस्ती सहमत गराउन खोज्छन् । कसैले आफ्नो कुरा राखे उनी सुन्दै सुन्दैनन् । खाली ‘हजुरलाई थाहै छ नि’ भनेर जित्न खोज्छन् । मान्छेलाई थाहा होस् नहोस् हजुरलाई थाहै छ नि भन्ने उनको बानीले सबै आजित छन् ।सशस्त्र प्रहरी बलकै कतिपय शाखालाई उनले मौखिक रुपमा आवश्यक खर्च माग्न पत्र लेख्नु पनि भन्ने गरेका छन् ।
पत्र लेखिसकेपछि उनले झुल्याउँदै आएका छन् । सशस्त्रका कतिपय अधिकृतहरु त आफूहरुलाई पत्र लेख्न लगाएर आफूहरुको नाममा उनले पैसा खाएकोसमेत अनुमान गर्छन् ।सशस्त्र मुख्यालयले अहिले लेखा प्रमुखहरुको सरुवा गर्ने तयारी गरिरहेको छ । तर उनी आफूले माथिल्लो निकायमा सबै मिलाइसकेको भन्दै आफ्नो सरुवा नहुने आफू निकटस्थलाई बताउँदै हिडिरहेका छन् । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।