काठमाडौं भदौ, २–
नेपाल जस्तो मूलुकमा आईपर्ने जस्तासुकै संकटमा पनि गरिने उद्धार तथा राहत वितरणमा कुनै न कुनै स्वार्थ लुकेको प्रष्ट देखिन्छ । नेपालमा मात्र होईन हाम्रो जस्तो अल्प विकसित तथा गरिब मूलुकमा यो समस्याले विकराल रोगको रुपमा जरा गाडेको सुनिदै, देखिदै, पढिदै तथा भोगिदै आईएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा पनि यस्ता स्वार्थहरु हामीले बारम्बार प्रकट भएका देख्दै आएका छौ । नेपालमा यस्को धेरै अभ्यास भने करिब दुई बर्ष पहिलेको भूकम्पको बेला देख्न पाईएको थियो । पीडितहरुलाई उद्धार तथा राहत वितरण स्वच्छ तथा सफा मनले गरिनुपर्नेमा थोरै संघसंस्था व्यक्तिहरुमा मात्र त्यस्तो भाव देखियो ।
भूकम्पका बेला पनि विभिन्न मानिस तथा संघसंस्थाले उद्धार तथा राहत वितरण गरेको नाटक देखाएका प्रशस्त उदाहरण देखिएको थियो । भूकम्प पीडितलाई राहत वितरणमा पनि राजनीति भयो भनेर धेरै कुरा सार्वजनिक नभएका होईनन् । कतिपयले उद्धार तथा राहत वितरण गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर विभिन्न बिदेशी डोनरहरुबाट सहयोगको आशाम दाँत ङिच्च पारेको पनि देखिएकै हो । पीडितहरुलाई वितरण गरिएका राहतमा कमसल तथा म्याद गुज्रिएका खाद्यान वितरण गरेर संस्था तथा व्यतिmगत रुपमा वा वा कमाउन चाहने जमातको नेपालमा कमी देखिदैन । दुई बर्ष पहिलेको बिनाशकारी भूकम्पमा उद्धार तथा राहत वितरणमा पीडितका नाममा राजनीति गरेको निकै देखियो । म्याद गुज्रेका खाद्य पदार्थ बाँडेर चर्चा कामउन खोजेको, पीडितलाई बाँड्न ल्याईएका सामग्री बाँडेने भन्दा पनि आफैले कुम्ल्याएका कुराले त्यतिबेला निकै चर्चा परिचर्चा पाएका थिए ।
अहिले पनि नेपालमा बाढी पहिरोको प्राकृतिक विपत्तिले मूलुकका विभिन्न भागका बासिन्दा आक्रान्त छन् । एक थरी मानिसहरुलाई फेरि कमाउने दिनको सुरुवात भएको छ । सबैलाई एउटै बास्केटमा राख्नु अन्याय हुन जान्छ । अहिले बाढी पहिरो पीडितहरुको उद्धार तथा राहत वितरणमा मुख्यतया तीन थरी मानिसहरु खटिएका प्रष्ट देख्न सकिन्छ । केलाउदै जाने हो भने त अझैं धेरै पनि हुन सक्छन् । एक थरी सामाजिक सेवा गरेर उच्च समाजसेवीको रुपमा दर्ज हुन चाहान्छन् । अर्को थरीले नजिकिदो २ नम्बर प्रदेशको निर्वाचनलाई लक्षित गरेर राहत तथा उद्धार कार्यमा खटिएका छन् भने एक थरी लहडै लहडमा अर्काको देखासेखि गरेर सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्ने उदेश्यले उद्धारमा खटिएको देख्न सकिन्छ ।
पहिलो उदेश्यले उद्धार तथा राहत वितरणमा खट्नेहरुको संख्या अन्यको तुलनामा एकदमै थोरै छ । उनीहरुको स्वार्थ थोरै र सेवा धेरै रहेको उनीहरुको कार्यशैलीले प्रष्ट पारेको देखिन्छ । दोस्रो थरीका मानिसहरु यो पटक दिलोज्यान दिएर खटिएका छन् । नजिकिदो निर्वाचन र भर्खरैको बाढी पहिरो पीडितहरुका लागि पीडा भित्रै पनि वास्तवमा एउटा मिठो संयोग बनेको छ । यदि निर्वाचन नजिकदै नहुदो हो त राजनीतिज्ञहरु अहिले जुन संख्यामा खटिएका छन् त्यति मैदानमा नदेखिन पनि सक्थे । तर, एउटा कुरा के हो भने हरेक कुरालाई लेनदेनको रुपमा मात्र हेर्ने संस्कारको विकास हुनु राम्रो पक्ष होईन । राजनीतिमा लागेका हरुले पनि आफ्नो भोटको लागि मात्र नभएर पवित्र भाव राखेर उद्धार तथा राहत वितरणमा खटिनुपर्छ ।
अब यो संस्कारको विकास हुनु जरुरी छ । त्यस्तै, लहड र चर्चा परिचर्चा भन्दा पनि सेवा भावले सेवा गर्न सके वास्तविक पीडितको आत्माले पनि जयजयकार गाउनेछ । अहिले बाढी पीडितहरुको उद्धारमा हलानाका छोरा फलानाका छोरीले यस्तो गरिन उस्तो गरे भनेर सामाजिक सञ्जाल भरी तस्विर सार्वजनिक गर्ने काम भैरहेको छ । यो पनि गलत काम भैरहेको छ । त्यसरी तस्विर सार्वजनिक गर्नेहरुको उद्धार भन्दा पनि फोटो खिचेर भारल बनाउने उदेश्य लुकेको प्रष्ट हुन्छ । उता पीडित पीडाले छ्पटाईरहेको हुन्छ उद्धार गर्ने मान्छे पीडितलाई समाएर मुस्कुराएर फोटो खिच्न क्यामेरा तिर हेरिरहेको हुन्छ ।
यो पवित्र मनले गरिएको उद्धार कुनै पनि हालतमा मान्न सकिदैन । त्यही उद्धारमा सर्वसाधारण मानिस भित्रैदेखि सहयोग गर्नुपर्छ भनेर निरन्तर लागिरहेको हुन्छ, उसलाई फोटो खिच्ने भाईरल बनाउनेसँग कुनै साईनो समेत हुदैन । त्यो हो पविरत्र मनले गरिएको सहयोग भनेको ।
कुहिएका सामाग्री वितरण
बाढी पीडितलाई सामग्री वितरण गरेको छु भनेर नाक लामो बनाउने तर गुणस्तरहिन तथा कुहिएको सामग्री वितरण गर्नेहरु पनि प्रसस्तै देखिएका छन् । भूकम्प पीडितहरुलाई त्यस्ता राहत वितरण गर्ने पनि धेरै देखिए र अहिले पनि त्यस्ताको कमी देखिएको छैन । हिजो मात्र सप्तरीका विभिन्न स्थानमा बाढी पीडितका लागि बाँडिएका खाद्य पदार्थ, औषधी लगायत सामग्री म्याद नाघेका तथा गुणस्तरहिन भएका विभिन्न समाचार सार्वजनिक भएका थिए । उक्त समाचारमा कुहिएको चामल सहित पीडितहरुका तस्विर समेत सार्वजनिक भएका थिए । यो कुरा वास्तवमा अत्यन्तै दुखदायी हो । चर्चा कामाउनको लागि गुणस्तरहिन सामाग्री वितरण गरेर पीडितहरुलाई अझै पीडा दिने खेल बन्द गरौ । यस्तो कार्यले पीडितहरुलाई पीडा थप्ने बाहेक अरु कुनै काम हुदैन ।