एजेन्सी –
बार्सिलानको प्रख्यात पर्यटन स्थल रमब्लासमा ठूलो आतंकवादी हमला भएको छ । रमब्लासमा एउटा गाडीबाट भीडमा हमला भएको हो । विविसीका अनुसार, घटनामा कम्तिमा १४ जना मारिएका छन् ।
स्पेनको मिडियाका अनुसार, दुईजना गिरफ्तार गरिएका छन् भने प्रहरीसँग मुठभेडमा शहरबाहिरको स्थानमा एकजना मारिएका छन् । प्रहरीले संदिग्धहरुको तस्वीर सार्वजनिक गरेको छ । घटना लगत्तै आतकंवादी संगठन आइएसले घटनाको जिम्मेवारी लिएको छ । तस्वीर जारी गरिएका व्यक्ति भ्यान भाडामा दिने रहेको प्रहरीले जनाएको छ ।
उक्त भ्यानले पर्यटनस्थलमा फुटपाथमा हिंडिरहेका पैदल यात्रुहरुलाई कुल्चिँदै गएपछि ठूलो संख्यामा मृत्यु भएको हो । हमलापछि भागदौड मच्चिएको विविसीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार, रमब्लासमा हिंडिरहेकाहरुलाई ठक्कर हान्दै कुल्चिँदै भ्यान अघि बढेको थियो ।
स्पेनको प्रहरीले क्याम्ब्रिल्समा एउटा अर्को सम्भावित हमलालाई रोक्नका लागि कैयन् आतंकवादीलाई मारेको बताएको छ । उक्त क्षेत्रमा गोली चलेको आवाज सुनिएको थियो । स्पेनका प्रधानमन्त्री मारियानो रखायले घटनालाई आतंकवादी हमला बताएका छन् ।