बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल चलचित्र संघको बाढी पीडितलाई सहयोग– राहत कोष स्थापना

बुधबार, साउन ३२ २०७४

काठमाडौं साउन, ३२–
नेपाल चलचित्र संघले बाढी प्रभावित  जनताका लागि  राहत कोष स्थापना गरेको छ । संघका अध्यक्ष प्रदीप उदयका अनुसार
 बुधबार चलचित्र संघले नगद १ लाख, क्यूएफएक्सले १ लाख, बीके फिल्मसले १० हजार गरि कूल २ लाख १० हजारको सुरुवाती  राहत कोष स्थापना गरिएको हो ।   साँझसम्ममा संघका अन्य सदस्यहरुले व्यक्तिगत सहयोग गर्ने उनको भनाई छ । 
 
उनले भने, ‘बाढीबाट प्रभावित भएका जनताका लागि हाम्रो यो सानो सहयोग हो । बाढी पीडितको उद्धारमा जान नसकेपनि हाम्रो यो सहयोगले केहीको परिवारमा खुसी ल्याउन सकिन्छ । हाम्रो लक्ष्य १० लाख संकलन गरेर बाढी प्रभावितलाई वितरण गर्ने हो ।’  त्यसरी राहत कोषमा संकलन भएको रकम बाढी पीडितका लागि काम गर्दै आइरहेको संस्था एनएफसिसीलाई हस्तान्तरण गरिने उनले जनाए । 
 
बाढी प्रभावितहरुलाई  चलचित्रसँग सम्बन्धित संघ–संस्था र चलचित्रकर्मीहरुले समेत व्यक्तिगत सहयोगको  घोषणा गर्ने क्रम जारी छ । जस अनुसार स्वेता खड्का १ लाख, पूजा शर्मा १ लाख, दीपकराज गिरी १ लाख, दीपाश्री निरौला ५१ हजार, प्रियंका कार्कीले  ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै,  चलचित्र कलाकार संघले ६५  हजार, भद्रगोल टिमले ५१ हजार, निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाहले नगद ५०–५० हजार सहयोगको यसअघिनै  घोषणा गरिसकेका छन् ।