बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निषेधित क्षेत्र तोड्न खोज्दा विवेकशील साझा पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

मंगलबार, साउन ३१ २०७४

काठमाडौं साउन, ३१–
विवेकशील साझा पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मंगलबार नयाँ बानेश्वर चोकमा निशेधित क्षेत्र तोडेको र सार्वजनिक आवागमनमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले जुलुसलाई अघि बढ्न नदिएपछि झडप भएको हो । 
विभिन्न दलहरु तराईका बाढी पीडितको उद्धारमा  केन्द्रित भइरहेका बेला विवेकशील साझा पार्टीका कार्यकर्ता भने राजधानीमा जुलुस तथा धर्ना दिनमै अलमलिरहेका छन् ।  

 मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा. गोसिवन्द केसीको जीवनरक्षाको माग गर्दै जुलुस निकालेका उनीहरुलाई प्रहरीले अबरोध पुर्याएको हो ।  

नेपाल बन्द र यातायात अवरुद्ध जस्ता कार्यक्रमहरु नगर्ने बताउँदै आएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले निशेधित क्षेत्र तोडेर संसद भवनतिर जाने प्रयास गरेका थिए । यस क्रममा प्रहरीहरुले उनीहरुलाई घँच्याड्ने प्रयास गर्दा केहीबेर ठेलाठेल समेत भएको थियो  । निशेधित क्षेत्रभन्दा केही पर कार्यक्रम गरिरहँदा प्रहरीले उनीहरुमाथि कुनै अवरोध गरेको थिएन ।

विगत २३ दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको समर्थनमा मंगलबार विवेकशील साझा पार्टीले राजधानीमा जुलुस निकालेको हो ।
महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि आइपुगेपछि धर्नामा परिणत भएको थियो ।