काठमाडौं साउन, ३०–
नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच चुनावी तालमेल हुने भएको छ । अगामी भदौं ४ र ५ गते राजधानीमा हुने २५ औं महाधिवेशनमा प्रेस युनियन र प्रेस सेन्टरबीच चुनावी तालमेल हुने भएको हो ।
आसन्न महाधिवेशनमा सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले पत्रकार महासंघको चुनाबमा तालमेल गर्ने सहमती गरेका हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमै प्रेस युनियन र प्रेस सेन्टरबीच २५ औं महाधिवेशनमा गठबन्धन गर्ने सहमती भएको हो ।
देउवा र प्रचण्डबीच भएको छलफलमा प्रेस सेन्टरलाई अध्यक्ष र उपाध्यक्ष, तथा युनियनले महासचिव, कोषाध्यक्षसहित अन्य पदहरु लिएर चुनावमा जाने समझदारी भएको थियो । प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले एमाले निकट प्रेस चौतारीलाई भने प्रतिष्पर्धा भारी हुने देखिएको छ ।