बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जन केन्द्रित विकासमा बढी ध्यान दिनुपर्दछः अध्यक्ष ओली

मंगलबार, साउन २४ २०७४

साउन २४, इलाम – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । 

नेकपा एमाले १ नं. प्रदेश कमिटिले आजदेखि इलामका सदरमुकाममा सुरू गरेको प्रदेशस्तरीय नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले भने – “लोकतन्त्रको संस्थागत विकासका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुले जन केन्द्रित विकासमा बढी ध्यान दिनुपर्दछ ।” 

अध्यक्ष ओलीले आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गर्दै मधेशीको नाममा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरूका कारण त्यहाँका जनता पछि परेको बताए । 

नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको उल्लेख गर्दै उनले भने –“अरूसँग स्पष्ट धारणा नभएकाले झुटको खेती गर्नु बाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।” 

अध्यक्ष ओलीले नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि एमालेले ल्याएका राम्रा एजेण्डाहरूको कुप्रचार गर्दै जनतलाई अलमलमा पारिरहेकाले निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन आग्रह गरे । 

यही साउन २५ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणमा प्रदेश नं १ का तीनसयभन्दा बढी जनप्रतिनिधिको सहभागिता छ ।