बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

म्याद सकिएको सुई दिने केएमसीको औषधालयमा सिलबन्दी

मंगलबार, साउन २४ २०७४

साउन २४, काठमाडौं – औषधि व्यवस्था विभागले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ ।
उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि सोमबार औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजीको सुई दिइएको पाइएको छ’ महानिर्देशक ढकालले भने ‘हामीले प्रारम्भिक जाँचमा बाँकी दुईवटा भाइल म्याद सकिएको पायौँ तर सुई दिने नर्ससँग कुराकानी गर्न बाँकी छ, अनुसन्धान गर्दैछौँ ।’ यो औषधिले पीप सुकाउने काम गर्ने पनि उनले बताए ।

स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले सुवेदीका आफन्तले मन्त्रालयमा खबर गरेपछि आफू स्वयं अस्पतालमा गई औषधि व्यवस्था विभागलाई जानकारी गराएको बताए । थप उपचारका लागि बिरामीलाई अहिले कान्तिबाल अस्पतालमा पठाइएको छ । बिरामीका आफन्त र अस्पतालबिच अहिलेसम्मको उपचार निःशुल्क गर्ने सहमति भएको पनि प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।