बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पशुपतिको प्राचिन ‘ग्रन्थ’ गायब पार्ने खेल

सोमबार, साउन २३ २०७४

 

काठमाडौं । पशुपति क्षेत्रमा एक स्थान छ , नाम हो निर्मल अखडा । किरियापुत्री बस्नेदेखि उत्तरमा टाँसिएको निर्मल अखडामा एक वर्षदेखि पशुपतिनाथको दर्शन गर्न आउने भक्तहरु, साधु सन्त, गरिब, भिखारी आदिले हरेक दिन बिहान भोजन गर्दै आएका थिए । त्यो पनि निःशुल्क ।
एक वर्ष अघि साउन १७ मा सुरु भएको निःशुल्क भोजनको अभियान यो वर्षको साउन १७ मंगलबारदेखि अन्त्य भएको छ । यसो हुनुको कारण भने अनौठो छ । कारण अरु कोही नभएर सोही निर्मल अखडाका महन्त गोविन्द गिरी उर्फ स्वामी गोकुलानन्द । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका लागि चाहिने शीर माला र निर्मल अखडाको हेरचाह गर्न राखिएका महन्त स्वामी गोकुलानन्द अर्थात खास नाम गोविन्द गिरी हो ।
यी गोविन्द गिरीले पशुपति क्षेत्र भित्रको निर्मल अखडामा सञ्चालन भएको निःशुल्क भोजनमा लागूऔषध प्रयोगकर्ता, मदिरा खानेहरुले पनि भात खाए भन्ने बहाना बनाएर यो अभियान नै बन्द गर्ने फर्मान जारी गरेका छन् । निःशु्ल्क भोजनमा सेवा गर्न नेपालका प्रतिष्ठित धेरै व्यक्तिहरु पुगेका छन् । यो अभियानमा कैयन दयालु दाताहरुले सहयोग गरि पनि रहेका छन् । त्यो अभियानमा खर्च जुटाउने, संयोजन गर्ने आदि काम समाजसेवी दयाराम अग्रवालले गर्दै आएका थिए । तर दाताहरुले दिएको खर्च पारदर्शी भएन भन्ने तर्क पनि निर्मल अखडाका महन्त गोविन्द गिरीले पेश गरेका छन् ।
गिरीको कुरा पत्याउने हो भने निःशुल्क भोजन अभियानमा आर्थिक पारदर्शीता भएन भनेर गुठी संस्थान र पशुपति विकास कोषले पनि भन्ने गरेको छ । खै कहिले भनेका छन यी दुई संस्थाले  ? भन्ने प्रश्नमा उनले लाजैमर्दा पारामा भनिदिए –मलाई मौखिक रुपमा भनेका छन् ।
जबकी गुठी संस्थानै पदाधिकारीहरुले यो मानव कल्याणको काम रोकिनु हुँदैन भनेर प्रशंसा पनि गरेका थिए ।  गुठी संस्थानका जिम्मेवार पदाधिकारीहरु यो कामबाट खुसी थिए । तर स्वामी गोकुलानन्द अर्थात गोविन्द गिरीलाई गरिबहरुको भोको पेट भरिएको किन मन परेन भन्न सकिन्न । भोको पेट भर्ने यो अभियानलाई नेपालका प्रतिष्ठित धेरै मानिसहरुले प्रशंसा गरेका थिए । सक्नेहरुले सहयोग पनि गरेका थिए । तर रक्सी खाने, ड्रग लिनेहरुले पनि भात खाएको महन्त गोविन्द गिरीलाई मन परेको रहेनछ ।
यता यो कार्यक्रमको संयोजन गरिरहेका दयाराम अग्रवालले भने को मानिस कस्तो हो भनेर आफूले कहिले पनि ध्यान नदिएको बताएका छन् । उनले मानव सबै एकै हुन् जो जस्तो भए पनि उ भोको छ भने उसको पेट भरिनु पर्छ भनेर आफूले सेवा मात्रै गरेको उल्लेख गरेका छन् ।
निर्मल अखडाको हेरचाह गर्न बसेका महन्त गिरी वर्षमा ४ –५ महिना त काठमाडौं बाहिर नै हुन्छन् । जानकारहरुका अनुशार उनी स्यांजाको चम्पागिरी आश्रममा पनि संलग्न थिए । तर धर्मबहिनीलाई गाली गलौज  गरेका कारण त्यहाँबाट लखेटिएको बताइन्छ । नेपालगञ्जको अर्को एक आश्रममा त महन्त गोविन्द गिरीलाई फर्केर नआउने धम्की नै दिइएको थियो ।
ड्रगिस्टहरुलाई भात खान दिनु हुँदैन, मानवकल्याण गर्ने संस्था दूनियाँ छन । यस्तो अनौठो विचार राख्ने गिरी कसरी यस्तो पावन क्षेत्रमा यति महत्वपूर्ण जिम्मेवारी वहन गरेर कार्य सम्पादन गरिरहेका छन् भन्ने पनि कौतुहलको विषय भएको छ । 
निःशुल्क भोजन अभियान बन्द गरिनुका कारणहरुमा आर्थिक अनियमिताता भयो, ड्रगिस्टहरुले पनि भात खाए, निर्मल अखडाको मर्यादामा आघात पुग्यो भन्ने छ । 
यो आरोप स्वामी गोकुलानन्द अर्थात गोविन्द गिरी पक्षको हो । निःशुल्क भोजन कार्यक्रममा सहयोग गर्ने दयालु दाताहरुले अभियानका संयोजक दयाराम अग्रवाललाई कहिले पनि यो प्रश्न सोधेनन् । एक वर्षमा दान गर्ने दाताहरुले दयारामको नियतमा कहिले पनि शंका गरेनन् । 
तर जसले यो निःशुल्क भोजन अभियानमा पैसा खर्च नै गर्दैन थिए, भरसक निःशुल्क भोजनको लाभ आफूले पनि लिन्थे उनै महन्त गिरीले दयारामसँग खर्चको हिसाब मागे । आफूले मात्रै होइन गुठी संस्थान र पशुपति विकास कोषले पनि हिसाब मागेको भन्ने दावी गरे । 
खासमा यो निर्मल अखडामा निःशुल्क भोजनको अभियान रोक्नुको अर्काे एक खतरनाक योजना पनि हो भन्ने गरिन्छ । शिख धर्मावलम्वीहरुको मूल ग्रन्थ गुरु शाहेब ग्रन्थको एक प्राचिन प्रति यहि अखडामा छ । त्यो केही समय अघि गायब पार्ने प्रयास पनि गरिएको थियो । तर निर्मल अखडामा भएको मानिसहरुको चहलपहलले त्यो सम्भव भएन । भन्नका लागि अमेरिका पुर्याउने योजना भनिए पनि भारत लैजाने योजना बुनिएको थियो । निःशुल्क भोजन अभियानका कारण त्यो सम्भव भइरहेको थिएन । यस्तो अभियान बन्द गरेर त्यो प्राचिन ग्रन्थ बेपत्ता बनाउने प्रपञ्च हो यो भन्ने आरोप पनि स्वामी गिरीमाथि लाग्ने गरेको छ । 
आरोप जे जस्तो भए पनि स्वामी गोकुलानन्दले भने यस्तो योजना हुँदै नभएको र यस्तो प्रश्न सोध्ने कै योजना हुनु पर्छ भन्दै आरोपको प्रतिवाद गरे । पशुपति क्षेत्र जस्तो पावन भूमिमा दीन दुःखीहरुकालागि निःशुल्क भोजन कार्यक्रम सञ्चालन गर्नुलाई धेरैले सकारात्मक रुपमा लिएका थिए । तर स्वामीजीलाई यो कुरा मन परेन । मन नपरेपछि उनले पनि आफ्नो अधिकार क्षेत्र भन्दै बन्द गर्ने उर्दी जारी गरिसकेका छन् ।  यस क्षेत्रमा पुगेर धेरैले गरिब दीन दुःखीहरुलाई खाना खुवाएका छन् । तर यो अभियान अब बन्द भएको छ । मानव कल्याणका लागि थालिएको कर्ममा स्वामीले नै अवरोध सिर्जना गरेको यस अभियानका संयोजक दयाराम अग्रवाल बताउँछन् । 
संयोजक अग्रवालको दावीअनुशार केही महिना अघिसम्म विभिन्न तिकड्म गरेर स्वामी गोकुलानन्दले गरिबका लागि जम्मा भएको स्रोत साधनमा लामो हात गर्थे । त्यो चाल पाएपछि संयोजक अग्रवालले उनको गलत प्रवृत्तिमा रोक लगाउँदै गए । तीन महिना यता स्वामी गोकुलानन्दको खाने सबै प्वालहरु बन्द प्रायः भए । जसबाट उनी आक्रोशीत भएर अनौठा तर्क पेश गर्दै निःशुल्क भोजन अभियान बन्द गरेका हुन् । 
स्वामी गोकुलानन्दको श्रीमती र छोरा छोरी भारतमा रहेको बताइन्छ । यता उनी महिलाहरुसँग पनि राम्रो व्यवहार गर्दैनन भन्ने आरोप लाग्ने गरेको छ । निःशुल्क भोजन अभियानमा श्रम गर्ने एक महिलाविरुद्ध उनले अपशब्द बोलेरै गालीगलौज गरेको देख्ने सुन्नेहरु पनि छन् ।