बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केसीलाई ल्याउन आइजिपीमाथि चर्को दबाब

सोमबार, साउन १६ २०७४

काठमाडौं साउन, १६– 
 सशस्त्र प्रहरी बलको रिक्त रहेको कर्मचारी प्रशासन (कप्र) शाखाको प्रमुखमा सरुवा हुन एमटी शाखाका डीएसपी भूपेन्द्र केसीले चर्काे दबाब दिएका छन् । 
आफू उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री कृष्णबहादुर महरा निकट भएको बताउँदै उनले सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई विभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । डीएसपी केसीको यस्तो व्यवहारले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ उनीप्रति रुष्ट भएको स्रोतको दाबी छ ।
आर्थिक मामिलामा अहिलेसम्म कुनै दाग नलागेका र आफ्नो कार्यकालमा संगठनमा केही नयाँ काम गरौं भन्ने उद्धेश्य बोकेका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ अहिले केसीले कर्मचारी प्रशासन शाखा नै ताक्नुको अर्थ भित्रैभित्रै खोजिरहेका छन् । डीएसपी केसीले अति नै दबाब दिन थालेपछि उनी केसीको भित्री उद्धेश्य पनि खोज्न थालेका छन् ।
 यद्यपि, सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ शक्ति केन्द्रको अगाडि भने कुनै अडान लिन सक्दैनन् । उनको कमजोरी नै यही हो । यही कमजोरीका कारण महानिरीक्षक श्रेष्ठले डीएसपी केसीलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिए संगठनले ठूलो क्षति भोग्नु पर्नेमा सशस्त्रका अधिकारीहरु चिन्तित छन् ।  सशस्त्रमा कर्मचारी प्रशासन शाखालाई अत्यन्तै सम्वेदनशील शाखा मानिन्छ । कर्मचारी प्रशासनसम्बन्धी सबै काम यही शाखाले गर्छ । यो शाखाको डीएसपीले आईजीपीको दाहिने हात भएर काम गर्नुपर्ने हुन्छ । यो शाखाको प्रमुख बन्न आईजीपीको विश्वासपात्र हुनैपर्छ ।
तर पछिल्लो समय कप्र शाखा सरुवा र बढुवामा पैसा असुल्ने शाखाको रुपमा चिनिन थालिएको छ । यो शाखा अहिले अत्यन्तै बदनाम पनि भएको छ । यो शाखाको प्रमुखले सरुवा र बढुवामा ठूलै रकम असुल्छन् भन्ने सबैमा परेको छ । त्यसैले केसी राम्रो काम गर्ने भन्दा पैसा असुल्ने उद्धेश्यले नै कप्र शाखामा आउन जोडबल गरिरहेका हुन् ।  त्यसो त डीएसपी केसीको छबी सशस्त्र प्रहरीभित्र त्यति राम्रो छैन । दाङ घर भएका उनलाई सशस्त्र प्रहरीभित्र विवादित अधिकृतका रुपमा चिनिन्छ । सिंस २ का डीएसपी केसी अहिलेसम्म सबैभन्दा राम्रो ठाउँमा सरुवा पाउने व्यक्तिका रुपमा चिनिन्छन् ।
उनी स्टाफ कलेजका लागि पोटेन्सियल क्यान्डिडेट भएपनि उनले त्यहाँ फर्म नै भरेनन् । स्टाफ कलेज गर्दा झण्डै डेढ वर्ष पढ्नु पर्ने भएकाले उनले पढाइलाई भन्दा पैसालाई बढी महत्व दिएका हुन् । उनीमाथि एमटी शाखामा बसेर अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ । यस्तै आर्माेरर शाखामा हुँदा पनि उनले धेरै रकम कमाएको स्रोतको दाबी छ । उनीमाथि दुर्जकुमार राई आईजीपी हुँदा फर्जी बिल बनाएर बाँडिचुँडी खाएको आरोप पनि छ । त्यसो त उनी शैलेन्द्रकुमार श्रेष्ठ आईजीपी हुँदा बाभघैरब गुल्मको गुल्मपति बन्न सफल भएका थिए । 
त्यसबेला शक्तिकेन्द्र प्रयोग गरी उनी डीएसपीहरुको पहिलो रोजाइको गुल्म मानिएको बाघभैरब गुल्मको गुल्मपति बन्न सफल भएका हुन् । त्यसो त उनले त्यसबेला सीसीएससी तालिम नै गरेका थिएनन् । सो तालिम नगरेका व्यक्तिलाई नियमले गुल्मपति बनाउन मिल्दैन । तर, तत्कालीन आईजीपी श्रेष्ठ शक्तिकेन्द्रको दबाबमा उनलाई बाघभैरब गुल्मको गुल्मपति बनाउन बाध्य भएका थिए । उनीमाथि कमान्डो तालिम पनि रोएरै गरेको आरोप पनि छ । 
आफूले कमान्ड गरेका एमटी र आर्माेरर शाखा तथा बाघभैरव गुल्ममा उनले कुनै राम्रो काम नगरेको सशस्त्रका अधिकारीहरुको बुझाइ छ । उनलाई संगठनभित्रकै महत्वपूर्ण शाखा कप्र शाखा दिए त्यसलाई थप बदनाम बनाउने उनीहरुको बुझाइ छ । सशस्त्रका एक डीएसपी असन्तुष्टि पोख्दै भन्छन, ‘के सशस्त्र प्रहरी डीएसपी भूपेन्द्र केसी जस्ताको मात्रै बिर्ता हो ? जसले जे गर्दा पनि हुन्छ ? 
यस्तालाई कारबाही नगरेसम्म राम्रो मान्छे कहिले पाउँदैन सशस्त्रले ।अर्का डीएसपी थप्छन् ‘आर्थिक मामिलामा अत्यन्तै स्वच्छ मानिएका आईजीपी सिंहबहादुर श्रेष्ठले यस्ता व्यक्तिलाई कप्र शाखा सुम्पिन्छन् त ? त्यो भने हेर्न बाँकी छ ।’ आजको अमृतबजार साप्ताहिकमा खबर छ ।