बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई बर्षपछि सुरु भयो माथिल्लो त्रिशूली थ्री ‘ए’को काम

आइतबार, साउन १५ २०७४

 काठमाडौं साउन, १५–

करिब २ बर्षको अन्तराल पछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सचारु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपछि अन्योलमा रहेको चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको हो ।

 ठेकेदार कम्पनीले आयोजनाको बाँध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा  विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम शुरु गरेको छ । आयोजना प्रमुख फणीन्द्रराज जोशीका अनुसार कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट शुरु गरेको  छ ।

ठेकेदार कम्पनी सिजिजिसीले डि–सेन्डरको पानी हटाएर त्यसको परीक्षण गरी पुनःनिर्माण शुरु गरेको हो । अहिले आयोजनाको निर्माण क्षेत्रमा  ८० नेपाली र २० जना चिनिया मजदुर कार्यरत रहेका छन् ।  ६० मेगावाट क्षमताको आयोजना सन् २०११ को जुनबाट काम शुरु गरिएको र  २०१४ को मे ३१ मा काम सम्पन्न गर्नुपर्ने भए पनि क्षमता वृद्धि तथा   निर्माणमा स्थानीयवासीको अवरोधको कारण देखाएर तोकिएको समयमा पूरा हुन ढिलाइ भएको थियो । आठ करोड ९१ लाख अमेरिकी डलरमा आयोजनाको निर्माण गर्न  चिनियाँ कम्पनीले जिम्मा पाएको छ ।
पहिलोपटक २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम सक्ने जिम्मेवारी पाएको कम्पनीले २०१६ जुन ३० अर्थात् २०७३ जेठ १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भूकम्पका कारण ठेकेदार कम्पनी काममा फर्कन ढिलाइ गर्दा आयोजना थप प्रभावित बन्न पुगेको थियो ।