साउन १२, काभ्रे — काभ्रेमा एकै परिवारको सामुहिक आत्महत्याको घटना सेलाउन नपाउँदै एक दम्पती बिहीबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
आत्महत्या गर्नेमा धुलिखेल न.पा. वडा न ७ घर भएका अन्दाजी ३१ वर्षका स्थानीय विशाल भनिने भैरव वडाल र उनकी कान्छी श्रीमती करिव १८ वर्षकी मनिषा दाहाल रहेका छन् । करिव दुई महिना अघिमात्र बडालले दोस्रो बिहे गरेको हल्ला चलेको भएपनि दुई हप्ता अघि मात्र घर लगेको स्थानीयले जानकारी दिए ।
जेठी श्रीमती सितामाया बडालले प्रहरीमा उजुरी गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा जेठी श्रीमतीका छोरालाई सबै सम्पत्ती दिने र आफुहरूलाई केही नचाहिने भन्दै उनले सहमती गरेका थिए । पेशाले चालक रहेका वडाल प्रहरी कार्यालयमा सहमती गरेर घर गएका थिए । साँझ घरबाट कान्छी श्रीमतीसँगै निस्केका उनिहरू घर नजिकैको जंगलमा एउटै सलले पासो लगाएर मृत अवस्थामा बिहीबार साँझ करिव पाँच बजेतिर मात्र फेला परेका हुन् ।